एजेन्सी
बिहिवार, चैत्र ६, २०७६
1428

वासिङ्टन-साइन्स जर्नल पीएनएएसमा प्रकाशित आफ्नो किसिमको पहिलो अध्ययनले भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा यी दुई देशमा रहेका परमाणु हतियारको १ प्रतिशतको मात्रै प्रयोगले पनि १० करोड मानिसको तत्काल ज्यान जानुका अतिरिक्त विश्वव्यापी रुपमा आधुनिक इतिहासकै ठूलो खाद्यान्न संकट आउन सक्ने उल्लेख गरेको छ ।
यसले मानिसमा खाद्यान्न संकट हुने र भोककै कारण करोडौं मानिसको ज्यानसमेत जान सक्नेछ ।

अध्ययनमा भनिएको छ, “दुई देशबीच परमाणु युद्ध भइरहँदा विश्वव्यापी स्तरमा तापमानमा गिरावट आउने, कम वर्षा हुने र सूर्यको मधुरो किरणको प्रभाव पर्नेछ ।” यसको ठूलो असर कृषि उत्पादनमा पर्नेछ ।
पहिलो वर्षमा खाद्यान्न उत्पादनमा १२ प्रतिशतको गिरावट आउनेछ । यो असर करिब १ दशकसम्म पूरै विश्वको खाद्यान्न उत्पादन तथा व्यापारमा देखिनेछ ।
यो अध्ययन अमेरिकाको रटजर्स युनिभर्सिटी न्यू ब्रुन्सविकका शोधकर्ताको आकलनमा आधारित छ । शोधकर्ताका अनुसार यसको असर २१ औं शताब्दीको अन्त्यसम्म मानवजनित जलवायु परिवर्तनको प्रभावभन्दा धेरै बढी हुने छ ।
कृषि उत्पादकत्वमा विश्वव्यापी तापमान वृद्धिको व्यापक रूपमा अध्ययन गरिएको उनीहरूको बुझाइ छ । तर, तापमानमा अचानक गिरावट आउनाले विश्वव्यापी कृषि उत्पादनको वृद्धिमा हुने प्रभावको जानकारी अत्यन्त कम स्तरमा रहेको छ ।
यो अध्ययनमा आफ्नो योगदान दिने प्राध्यापक एलेन रोबोकले भने, “हाम्रो परिणामबाट परमाणु हतियारलाई निश्चित रूपमा समाप्त गरिनुपर्छ भन्ने निष्कर्ष आउँछ । किनभने यसको प्रयोग गरियो भने त्रासदीपूर्ण अवस्था आउन सक्छ ।”