एजेन्सी
मंगलबार, फाल्गुन १३, २०७६
446

रोम-इटालीमा नयाँ कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्ममा ४ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो ।
इटालीको लोम्बार्डीमै यसअघि अरू ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १ सय ५० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन्े । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति देखिएका छन् ।
लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो सहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झन्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन ।
स्थानीय अधिकारीहरूले बार, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।
कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरू स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा सञ्चालित ओपेराहरू रद्द गरिएका छन् ।
इटालीमा सबैभन्दा बढी कोरोना संक्रमितहरू लोम्बार्डीमा भेटिएका छन् । अधिकारीहरूले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन् ।