एजेन्सी
बुधवार, फाल्गुन ७, २०७६
636

इस्लामाबाद-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु इमानदार भएकाले सेना आफ्नो साथमा भएको र उनीहरूबाट आफुलाई कुनै खतरा नभएको बताएका छन् । उनले मिडियासँग कुराकानी गर्दै केही महत्वपूर्ण प्रश्नको जवाफ दिएका छन् ।
यद्यपि उनले देशमा भएको पीठो र चिनीको अभावको विषयमा कुनै सन्तोषजनक उत्तर दिएका छैनन् । आफुले दिनरात पूरा मेहनत तथा इमानदारीका साथ काम गरिरहेको उनले बताएका छन् । यसका अतिरिक्त उनी विश्वकै कम तलब पाउने प्रधानमन्त्री पनि हुन् ।

एक प्रश्नको उत्तरमा उनले आफू इमान्दार भएकाले नै सेनाबाट आफुलाई कुनै खतरा नभएको बताएका छन् । सेना आफ्नो साथ भएको उनले बताए । सरकार र सेनाबीच कुनै तनाव नभएको पनि उनले थपे ।
उनले भने, “मैले मुलुकको भलाइका लागि दिन–रात काम गर्दै आएको छु । यसको नतिजा पनि देखिन थालेको छ । सेनाको डर नवाज शरिफ तथा जरदारीजस्ता भ्रष्ट नेतालाई मात्रै हुन्छ । देशको गुप्तचर एजेन्सीलाई थाहा छ कि नवाज शरिफ र जरदारीले भ्रष्टाचारबाट कति पैसा कमाएका छन् । मैले भष्टाचार नगरेको पनि उनीहरूलाई थाहा छ । मौलाना फजल–उर–रहमान सरकारलाई ठग्ने प्रयास गरिरहेका छन् । उनीहरूको विरुद्ध देशद्रोहको मुद्दा चलाइनेछ ।”