एजेन्सी
शुक्रवार, माघ १०, २०७६
864

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा विश्व व्यापार संगठनबीचको विवाद गत ४ वर्षदेखि रहँदै आएको छ । हाल आएर ट्रम्पले पुनः एकपटक यो संगठनमाथि ठूलो आरोप लगाएका छन् र अमेरिकासँग भेदभाव भएको उनले बताएका छन् । यसपटक उनले भनेका छन्, “भारत र चीनजस्तै अमेरिका पनि एक विकासशील देश हो । तर, हामीलाई सोहीअनुसार हेरिएको छैन ।”
विश्व आर्थिक मञ्चमा चलिरहेको सत्रमा बोल्दै ट्रम्पले भने, “सबैलाई थाहा छ कि मेरो र डब्लूटीओबीच राम्रो सम्बन्ध छैन । किनकि हाम्रो देशसँग सही व्यवहार गरिएको छैन । भारतलाई पनि विकासशील देश मानिएको छ । तर, हामीलाई सोही दृष्टिकोणबाट हेरिएको छैन ।”

व्यापारको मामिलामा डोनाल्ड ट्रम्पले भारत वा चीनको विरुद्धमा यस्तो बोलेको यो पहिलो पटक भने होइन । विगत लामो समयदेखि चीनसँग अमेरिकाको व्यापारयुद्ध चलिरहेको छ र भारतको विरुद्धमा पनि भन्सार शुल्कको विषयलाई लिएर ट्रम्पले भेदभाव गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपतिले भनेका छन्, “जहाँसम्म मेरो बुझाइ छ, हामी पनि त्यस्तै हौं । विकासशील देशको नाममा यी देशहरूलाई व्यापक फाइदा भइरहेको छ, जुन उनीहरूले पाउनु हुँदैनथ्यो । कुनै पनि सम्झौताका लागि अब हामी नयाँ संरचनाको माग गर्छाैं ।”
विगतमा चीनसँग व्यापार सम्झौताको पहिलो चरण पार गरेका ट्रम्पले भने, “डब्लूटीओले यस किसिमको भेदभाव गर्दैन भने आजको चीन कहिल्यै यस किसिमको चीन हुँदैनथ्यो ।”
यसपटक ट्रम्पले डाभोसमा जारी विश्व आर्थिक मञ्चको समयमा यस किसिमको भाषण दिएका हुन् । यो अवधिमा उनले आफ्नो उपलब्धिका बारेमा बताए । यो वर्ष हुने चुनावमा पनि आफ्नो जित हुने दाबीसमेत गरेका छन् ।