एजेन्सी
बिहिवार, माघ ९, २०७६
800

तेहरान-एक इरानी सांसदले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्नेलाई ३० लाख अमेरिकी डलर अर्थात् साढे ३३ करोड रुपैयाँ इनाम दिने घोषणा गरेका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सी आईएसएनएका अनुसार इरानी सांसदले यो घोषणा अमेरिकी ड्रोन हमलामा मारिएका आफ्नो देशका शीर्र्ष सैन्य जनरल कासिम सुलेमानीको मृत्युको बदला लिनका लागि गरेका हुन् ।
मजलिसका सदस्य अहमद हमजेहले यो घोषणा मेजर जनरल सुलेमानीको गृह नगर केरमानका निवासीका तर्फबाट गरेका हुन् । हमजेहले भने, “हामी ट्रम्पलाई मार्नेलाई ३० लाख डलर दिन्छौं ।” तर, योे रकम कस्ले दिन्छ भन्ने बारेमा भने उनले स्पष्ट पारेका छैनन् ।
उता जेनेभामा निःशस्त्रीकरणमा आयोजित कन्फिरेन्समा रहेका अमेरिकी राजदूतले यसलाई मुर्खता भएको बताएका छन् । यसले इरानी सत्ता आतंकवादी आधारमा चलेको उनले बताए । इरानी सत्ताले आफ्नो व्यवहारमा परिवर्तन गर्न आवश्यक भएको पनि उनले बताए ।