एजेन्सी
मंगलबार, माघ ७, २०७६
1358

टोकियो-जापानका एक अर्बपतिलाई चन्द्रमामा साथै लैजानका लागि एक प्रेमिकाको खोजी थियो । यसका लागि युसाकु मेइजावाले अनलाइन विज्ञापन पनि लन्च गरेका थिए । यसमा भनिएको थियो, युसाकुसँग स्पेसएक्स रकेटबाट चन्द्रमाको उडानमा जानका लागि एक प्रेमिकाको खोजी भइरहेको छ । युसाकुले हालै मात्र एक जापानी अभिनेत्रीसँग आफ्नो ब्रेक–अपको घोषणा गरेका छन् ।
युसाकुको प्रेमिका बन्न तथा चन्द्रमामा जाने आफ्नो सपना पूरा गर्नका लागि २०२० को जनवरी १७ सम्मको समय सीमा दिइएको थियो । जति महिलाले आवेदन गरेका थिए, उनीहरूमध्ये छानिएकी महिलासँग उनी मार्चको अन्त्यसम्मा डेटिङमा जानेछन् ।

विज्ञापनमा उनले भनेका थिए, “उनले २० वर्ष वा सोभन्दा माथिको उमेरको एकल महिलाको आवेदन स्वीकार गर्नेछन्, जो पूरै रूपमा जिन्दगीको आनन्द लिन चाहन्छिन् ।”
यो लामो म्याचमेकिङ अभ्यासलाई वेब स्ट्रिमिङ सेवाका लागि टिभी शोमा परिवर्तन गरिँदैछ । आफु मध्यम आयुको एक्लोपनाका कारण यो विचारलाई तयार गरेको अर्बपति युसाकुले बताएका छन् । उनले भने, “मैले आजसम्म यस्तो जिन्दगी बाँचेको छु, जस्तो मैले चाहेको छु ।” उनका दुई श्रीमतीबाट तीन बच्चा जन्मिसकेका छन् ।
युसाकु हाल ४४ वर्षको भएका छन् । विज्ञापनमा उनले भने, “एक्लोपना र खालीपनाको भावना बिस्तारै–बिस्तारै ममा हावी भएको छ । तर, म एक विषयको बारेमा सोच्छु र यो भनेको म लगातर कुनै महिलासँग माया गर्नु हो ।” युसाकुले आफ्नो ट्विटरमा लेखेका छन्, “चन्द्रमा जाने पहिलो महिला किन हुनु हुँदैन ?
उनी अनलाइन फेसन कम्पनीका प्रमुख हुन् । जसलाई याहु जापानले गत वर्ष बिक्री गरेको थियो । उनी महँगा कलाकृति किन्ने मामिलाका पनि सोखिन हुन् ।
उनी निजी यात्रीका रूपमा उद्यमी एलन मस्कको स्पेस एक्स रकेटबाट २०२३ वा पछि चन्द्रमाको यात्रामा जानेछन् । युसाकुले आफुसँग करिब आधा दर्जन कलाकारलाई पनि यो यात्रामा लैजानेछन् ।