एजेन्सी
आइतवार, माघ ५, २०७६
504

तेहरान-इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग सैन्य मुठभेड वा युद्ध नचाहेको भन्दै यसका लागि आफूले सम्भावित युद्ध टार्न कूटनीतिक पहलहरू जारी राखेको बताएका छन् ।
रौहानीले भने, “तेहरान र वासिङ्टन जनवरीको सुरुमा एक वर्षभन्दा कम समयमा दोस्रो पटक प्रत्यक्ष सैन्य भिडन्तको नजिक पुगे पनि द्वन्द्व कसैका लागि राम्रो होइन भन्ने पक्षमा इरान छ । अमेरिकासँगको युद्धलाई सकेसम्म टार्न इरान प्रयत्नशील रहनेछ ।”

फेब्रुअरी २१ मा संसदीय निर्वाचनअगाडि रौहानीको शिविरमा चुनौती हुनेछ भन्ने भविष्यवाणी गरिएको थियो र इरानको आणविक कार्यक्रमलाई लिएर तेहरान र पश्चिमबीचको तनावको बीचमा राष्ट्रपतिले भने, “विश्वसँग वार्ता अझै सम्भव छ ।”
फेबु्रअरी २१ मा हुन लागेको संसदीय निर्वाचनमा इरानमा रौहानीको समूहलाई कडा चुनौती आउन सक्ने अनुमान राष्ट्रपतिको छ । राष्ट्रपतिलाई उग्र राष्ट्रवादको नाराले त सताएको छ । यसबाहेक निर्वाचनमा रौहानीलाई अमेरिकी नाकाबन्दी र विश्व समुदायले आणविक सम्झौताबाट नफर्कन इरानलाई गरिरहेको अनुरोधले पनि दवाबमा पारेको छ ।
यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रपति रौहानीले अमेरिका तथा उसका सहयोगी मुलुकहरूसँगको तनावलाई कम गर्न अझै पनि वार्ता सम्भव रहेको बताएका देखिन्छ । यद्यपि अमेरिकाविरोधी ठूलो इरानी समुदायका कारण वार्ता गर्ने राष्ट्रपतिको भनाइ त्यति सहज भने छैन ।
“सरकारले सैन्य झगडा वा युद्ध रोक्न दैनिक रूपमा पहल गरिरहेको छ,” रौहानीले इरानी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको एक सम्बोधनमा भने ।
जनवरीको सुरुमा अमेरिकाले शीर्ष इरानी सेनापति कसिम सुलेमानीलाई इराकको राजधानी बग्दादमा ड्रोन हमलामा मारिसकेपछि यो क्षेत्र नयाँ द्वन्द्व नजिक पुगेको थियो ।
बदलामा इरानले पनि अमेरिकी सेनाको इराकस्थित सैन्य शिविरलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । आक्रमणबाट अमेरिकी सेनाको शिविरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भने नभएको अमेरिकी सेनाले बताएको छ ।
रौहानीका अनुसार आक्रमणबाट अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी जनरलको हत्याको बदला लिन इरान सफल भएको छ ।