एजेन्सी
मंगलबार, पुष २९, २०७६
918

क्यानबेरा-अस्ट्रेलियामा आगो अझैँ  पनि पूरै नियन्त्रणमा आइसकेको छैन । यद्यपि केही क्षेत्रमा भने आगोलाई पूरै नियन्त्रण गरिसकिएको छ । यसपछि नयाँ बिरुवाहरू पनि उम्रिन थालेका छन् ।
यसपछि त्यहाँका अग्नि नियन्त्रकहरू जनावरलाई बचाउनतर्फ लागेका छन् । डेली मेलको समाचारअनुसार अस्ट्रेलियाको आगोबाट १ अर्बभन्दा बढी जनावरको मृत्यु भएको छ । यसै कारणले आगोमा बच्न सफल जनावर पनि खानेकुराको अभावका कारण संकटमा परेका छन् ।

यसैले जीवित जनावरलाई बचाउनका लागि अस्ट्रेलियाको न्यू साउथ वेल्स सरकारले आकाशबाट खानेकुरा झारेर जनावरलाई बचाउने प्रयास थालेको छ । सरकारले यो उद्देश्यका लागि लगातार गाजर र सखरखण्डजस्ता खानेकुरा हेलिकप्टरबाट जंगलमा झार्न थालेका छन् ।
न्यू साउथ वेल्स पार्क सर्भिसले हालसम्म २ हजार २०० किलो तरकारी जनवारका लागि जंगलमा झारिसकेको छ । न्यू साउथ वेल्सका पर्यावरण मन्त्री म्याट कीनले डेली मेललाई भनेका छन्, “जनावर आगोबाट बच्न सफल भए पनि उनीहरुलाई खानेकुराको स्रोतको अभाव छ ।”
उनले भने, “वालाबिज आगोबाट बचेका छन् तर उनीहरुलाई खानका लागि केही छैन । किनकि आगोले जलेर सबै खानको स्रोत समाप्त भएको छ ।” उनले थपे, “वालाबीज पहिलेदेखि नै समस्यामा परेका थिए । किनकि यहाँ सुक्खा अवस्था पैदा भएको थियो । यसले उनीहरूलाई जिउँदो रहन मुस्किल भएको थियो ।”