एजेन्सी
बिहिवार, पुष ३, २०७६
386

अर यहुदा, इजरायल-इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नै दक्षिणपन्थी दल लिकुड पार्टीको नेतृत्वका लागिसमेत चुनौतीको सामना गर्नुपर्ने भएको छ ।
लिकुड पार्टीका तर्फबाट सरकारमा सहभागी भइसकेका पूर्वमन्त्री गिडियन सारले नेतृत्वका लागि आफू अघि बढ्ने स्पष्ट संकेत गरेपछि लिकुड पार्टीमा नै आगामी नेतृत्वका लागि नेतान्याहुको विकल्प खोजिएको बुझ्न सकिन्छ ।

एक वर्षको अन्तरालमा तीन निर्वाचन गर्दा ठूलो धनराशि खर्च गरेर पनि देशलाई स्थायी नेतृत्वका लागि वातावरण नभएको र नेतान्याहुमाथि भ्रष्टाचार अभियोग दर्ता भएको अवस्थामा गिडियनले पार्टीको नेतृत्वमा दावी गरेका हन । अब नेतान्याहुले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नका लागि पनि यही डिसेम्बर २५ मा हुने प्राइमरी मतदानबाट निर्वाचित हुनुपर्छ ।
“जनताले परिवर्तन चाहेका छन्,” सारले अर यहुदामा स्थानीय समयअनुसार सोमबार साँझ आफ्नो उम्मेदवारी दाबीसहित गरेको एक कार्यक्रममा बताए ।
उमेरले परिपक्व देखिने ५३ वर्षीय लिकुड पार्टीका नेता सारले नेतान्याहुको नेतृत्वको सरकारमा एक दशकभित्र विभिन्न मन्त्रालयको अनुभव हाँसिल गरेका छन् ।
नेतान्याहुले लामो समयदेखि सारबाट आफूलाई चुनौती आउन सक्ने सम्भावनालाई यस पहिलेदेखि नै महसुस गर्दै आएको स्थानीय सञ्चारमाध्यममा आएका समाचारहरूमा उल्लेख गरिएको छ । पार्टीमा नेतान्याहुले गरेका राजनीतिक नियुक्तिलाई लिएर सारले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
तर, गत महिना नेतान्याहुलाई पदीय मर्यादाविपरीत कर छली गरेको, घूस लिएको र विश्वासघात गरेको आरोपसहित तीन भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो । तर, उक्त आरोपको उनले खण्डन गर्दै आएका छन् ।
इजरायलको कानुनअनुसार कुनै व्यक्तिलाई भ्रष्टाचार आरोप लागेकै भरमा पदबाट हट्नुपर्ने बाध्यता छैन । तर, अरोप पुष्टि भएमा भने पदबाट स्वतः हट्नुपर्ने हुन्छ ।
सारले प्राइमरी मतदानका लागि आफ्नो उम्मेदवारी छिट्टै गर्ने बताएका छन् । इजरायलमा गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनबाट कुनै पनि दललाई सरकारको नेतृत्वका लागि स्पष्ट बहुमत नआउँदा राष्ट्रपतिले पार्टीहरूलाई गठबन्धन सरकारका लागि गरेको मिति पनि केही दिन पहिले सकिएपछि मुलुकमा आगामी मार्च २ मा निर्वाचन हुने भएको छ ।
सारले भने, “नेतान्याहु दुई पटकसम्म असफल भए, तर यो लिकुड पार्टीको नीतिका कारण नभई आफ्नै कमजोरीका कारण भएको हो । अब इजरायली लिकुड पार्टीले ‘पुनःजागरण गर्नुपर्छ ।”
“यदि हामीले परिवर्तन गरेनौँ भने इजरायलमा वामपन्थी राजनीति हावी हुनेछ ।” सारको घोषणामा ठूलो संख्यामा पार्टीका कार्यकर्ताबाट समर्थन आएको उनको समूहले बताएको छ । इजरायलमा पछिल्लो समय वामपन्थी पार्टीहरूको जनमतमा सुधारका संकेत देखिन थालेको छ ।