एजेन्सी
बुधवार, पुष २, २०७६
443

इस्लामावाद-पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।
पाकिस्तानको इतिहासमै पहिलो पटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुसर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए ।
पेसावरको उच्च अदालतका मुख्य न्यायाधीश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधीश सहिद करिमको संयुक्त इजलासले मुसर्रफलाई मृत्यु दण्डको फैसला सुनाएको हो ।
विशेष अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो । देशद्रोहको यो मुद्दा सन् २०१३ को डिसेम्बरदेखि अल्झिँदै आएको थियो । तीनसदस्यीय इजलासले मुसर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ ।
मुसर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । गम्भीर देशद्रोहको मुद्दाका बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोभेम्बर २८ मा मुसर्रफलाई आफ्नो बयान पेश गर्न डिसेम्बर ५ सम्मको अन्तिम सीमा समय तोकेको थियो ।
अदालतले उनको विरुद्धमा फैसला सुनाए पनि मुसर्रफ भने सन् २०१६ देखि स्वेच्छिक निर्वासनको क्रममा दुबईमा बस्दै आएका छन् ।
उनले उपचारका लागि दुबई बस्नुपरेको बताउँदै आएका छन् । उपचारको क्रम जारी रहेकोे स्वदेश नफर्कने उनले बताउँदै आएका छन् ।