एजेन्सी
बिहिवार, मंसिर १९, २०७६
287

वासिङ्टन-चीनसँग व्यापार सम्झौतामा पुग्नका लागि २०२० को चुनावपछि उत्तम हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
“कुनै हदसम्म चीनसँगको सम्झौता चुनावपछि गर्ने विचार मलाई राम्रो लागेको छ । तर, उनीहरू अहिले नै सम्झौता गर्न चाहन्छन् र सम्झौता सही हुन्छ वा हुँदैन, हेर्न बाँकी नै छ,” ट्रम्पले भने ।

“मेरो कुनै समयसीमा छैन । केही हदसम्म चीनसँग सम्झौता गर्नका लागि चुनावपछि नै उत्तम हुने मलाई लागेको छ,” राष्ट्रपति ट्रम्पले थपे ।
अक्टोबरमा घोषणा गरिएको पहिलो चरणको सम्झौतामा अमेरिका र चीनले हस्ताक्षर गर्न बाँकी नै छ । चालू अवस्थाको व्यापारयुद्धले दुवै मुलुकको अर्थतन्त्रलाई हानि पुगिरहेको छ । यो हानि विस्तार हुन नदिनका लागि पहिलो चरणको सम्झौता गरिएको हो ।
विश्वकै दुई ठूला अर्थतन्त्रबीचको व्यापार विवाद एक वर्षभन्दा बढी अवधिसम्म विस्तार भइसकेको छ । यसले जस्तालाई तस्तैको नीति र प्रतिबन्धहरूको सामना गर्नुपरेको अवस्था छ । अमेरिका–चीनबीचको अन्तरिम सम्झौताले वासिङ्टनले १ सय ५६ अर्ब डलरका चिनियाँ सामग्रीमा लगाइएको भन्सार शुल्क हटाउने अपेक्षा गरिएको छ । यसमा सेलफोन, ल्यापटप कम्प्युटर र खेलौना पनि रहेका छन् ।
यद्यपि अमेरिकी राष्ट्रपतिले मंगलबार बेइजिङमाथि दबाब कायमै राख्ने बताएका छन् ।
“चीनसँगको सम्झौता एक चिजमा निर्भर छ— के म यो गर्न चाहन्छु । किनकि हाल हामीले चीनसँग राम्रो गरिरहेका छौं । हामी कलमको टुप्पोबाट अभैm राम्रो गर्न सक्छौं र चीनले यसको मूल्य चुकाइरहेको छ । चीनले ५७ वर्षको इतिहासमै खराब वष को सामना गरिरहेको छ । त्यसैले के हुन्छ, हेरौं,” उनले बताए ।
वासिङ्टन र बेइजिङले एक–अर्काको अर्बौं डलरका सामग्रीमा शुल्क वृद्धिको आदान–प्रदान गरिरहेका छन् । २०१८ मा ट्रम्प प्रशासनले भन्दै आएको चीनको पक्षपातपूर्ण व्यापार अभ्यास त्याग्नका लागि चीनलाई बाध्य पार्न अन्य व्यापार प्रतिबन्ध पनि लगाएको थियो ।