एजेन्सी
बुधवार, मंसिर १८, २०७६
500

मस्को-रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी जिनपिङले सोमबार एक ऐतिहासिक पाइपलाइनको लन्च गरेका छन् । साइबेरियादेखि उत्तर–पूर्व चीनमा प्राकृतिक ग्यास ढुवानी गर्ने यो पाइपलाइनको लन्चिङले मस्को तथा बेइजिङबीच आर्थिक तथा राजनीतिक सम्बन्धलाई थप बढाउने अपेक्षा गरिएको छ । पावर अफ साइबेरिया पाइपलाइनको माध्यमबाट ग्यासको प्रवाह सुरु भएपछि रूसलाई पश्चिमी देशले लगाएको आर्थिक प्रतिबन्धबाट केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ । युक्रेनको क्राइमियालाई २०१४ मा कब्जा गरेपछि रूसमाथि अमेरिकासहित पश्चिमी देशले आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् ।
यो कदमले रूसको शीर्ष निर्यात बजारमा चीनको स्थानलाई मजबुत गर्ने र रूसको युरोपबाहिर सम्भावित रूपमा ठूला बजार उपलब्ध गराउनेछ । मस्कोले दुई अन्य प्रमुख ऊर्जा परियोजना नोर्ड स्टिम–२ अन्डरसी बाल्टिक ग्यास पाइपलाइनलाई जर्मनी तथा टर्की हुँदै युरोपको तुर्कस्ट्रिम पाइपलाइन लन्च गर्ने आशा गरिरहेकै समयमा चीनसँगको ग्यास पाइपलाइन लन्च भएको हो ।

३ हजार किलोमिटर लामो पावर अफ साइबेरिया पाइपलाइन पूर्वी साइबेरियाको चायन्डिन्सकोये तथा कोभयात्का फिल्डबाट ग्यासको ढुवानी गर्नेछ । यो परियोजना तीन दशकसम्म चल्ने र यसले रूसका लागि ४ खर्ब डलरको ग्यास उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसलाई वास्तवमै एक ऐतिहासिक कदम भएको बताइएको छ ।
यो पाइपलाइनको माध्यमबाट रूसबाट ग्यास खरिद गर्नेमा चीन दोस्रो ठूलो देश हुनेछ । यसको माध्यमबाट २०२५ सम्मम ३८ अर्ब घनमिटर ग्यासको आपूर्ति हुनेछ । रूसबाट ग्यास खरिद गर्ने मामिलामा जर्मनी सबैभन्दा ठूलो देश हो । यो मुलुकले गत वर्ष ५८.५० अर्ब घन मिटर ग्यास खरिद गरेको थियो ।
मस्कोले पश्चिमी तथा मध्ययुरोपलाई १९५० को दशकदेखि प्राकृतिक ग्यासको आपूर्ति गर्न सुरु गरेको थियो ।
युरोप लामो समयदेखि प्राकृतिक ग्यासको प्रमुख उपभोक्ता हो । यो महादेशको वार्षिक कुल आपूर्ति लगभग २ सय अर्ब घनमिटर छ । नयाँ पाइपलाइनमा रूसी ग्यासका लागि चीनले कति मूल्य बेहोरेको छ भन्ने विषय भने गोप्य नैै राखिएको छ ।