एजेन्सी
सोमवार, मंसिर १६, २०७६
316

प्योङयाङ-उत्तर कोरियाले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई मूर्ख र राजनीतिक रूपमा कच्चा भएको जनाएको छ । जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणका बारेमा गलत जानकारी दिइरहेको उत्तर कोरियाको भनाइ छ ।
उत्तर कोरियाले बारम्बार ब्यालेस्टिक मिसाइल लन्च गर्नु विश्वका लागि खतरा भएको सिन्जो आबेले बिहीबार बताएका थिए ।

उत्तर कोरियाका अनुसार आफुले सुपर लार्ज मल्टिपल रकेट लन्जचर परीक्षण गरिरहेको थियो ।
शनिबार उत्तर कोरियाको सरकारी मिडियाले जापानले निकट भविष्यमै सक्कली ब्यालेस्टिक मिसाइल हेर्न पाउने सम्प्रेषण गरेका थिए ।
यद्यपि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलका कारण संयुक्त राष्ट्रसंघको प्रतिबन्धको सामना गरिरहेको छ ।
उसको परमाणु कार्यक्रम र मिसाइलमाथि कैयौं प्रकारको प्रतिबन्ध लागिरहेको छ । उत्तर कोरियाले जापानको मित्र मुलुक अमेरिकासँग वार्ता होस् र आफुमाथि लागेको प्रतिबन्ध हटोस् भन्ने इच्छा व्यक्त गर्दै आएको छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले अन्तिम पटक यसै वर्षको फेब्रुअरीमा भेटघाट गरेका थिए । त्यसपछि दुई देशबीचको वार्ता अगाडि बढ्न सकेको छैन ।