एजेन्सी
बिहिवार, कार्तिक २८, २०७६
844

न्यूयोर्क-अमेरिकी घरधुरी हाल १४० खर्ब ऋण लिएर बसिरहेका छन् । धितो, क्रेडिट कार्ड, विद्यार्थीको ऋण र अन्य प्रकारका ऋण गरेर उनीहरुको टाउकोमा यो ऋणको भार परेको हो ।
तेस्रो त्रैमासिक अवधिमा घरधुरीको ऋणमा ०.७ प्रतिशतले वृद्धि भएको न्यूयोर्क फेडरल रिजर्भले बुधबार जनाएको छ । न्यून बेरोजगारी, बलियो उपभोक्ता मनोबल र सस्तो ऋण लागतका कारण यो लगातार पाँचौ वर्षमा पनि वृद्धि भइरहेको छ ।

उपभोक्ता ऋण हाल यो भन्दा पहिले २००८ मा उचाइमै पुगेको समयको तुलनामा बढी अर्थात १३ खर्ब डलर पुगेको छ । यद्यपि यो तथ्यांकलाई मुद्रास्फीति र हालको अर्थतन्त्रको आकारसँग मिलान गरिएको छैन । घरधुरीको ऋण हाल मन्दीपछिको समयको १२७ खर्ब डलरको तुलनामा २५ प्रतिशतले उकालो लागेको छ ।
अमेरिकी ऋणको ठूलो हिस्सामा धितो रहेको छ । यो ९४ खर्ब ४) अर्ब डलरको रहेको छ । यो दोस्रो त्रैमासिक अवधिको तुलनामा ३१ अर्ब तथा ०.३ प्रतिशतले बढी भएको न्यूयोर्क फेडले जनाएको छ ।
विद्यार्थीको कर्जामा १.४ प्रतिशतले वृद्धि भएर १५ खर्ब डलर पुगेको छ । यसैबीच तेस्रो त्रैमासिक अवधिमा क्रेडिट कार्डको निक्षेप १३ अर्ब डलरले वृद्धि भएको छ ।
यो सबै ऋणमा विशेषगरी क्रेडिट कार्ड र धितोको ऋणले उपभोक्ता खर्चमा वृद्धि गराएको छ । अमेरिकी आधुनिक अर्थतन्त्रमा उपभोक्ता खर्चको हिस्सा सबैभन्दा ठूलो रहेको छ । तर यो कर्जा पनि बेरोजगारी दर वृद्धि भएको अर्को मन्दीको समयमा तिर्नका लािग मुश्किल पर्ने देखिएको छ ।