एजेन्सी
बुधवार, कार्तिक २०, २०७६
621

बेइजिङ, २० कात्तिक
अमेरिकामा कालो सूचीमा परेपछि चिनियाँ दुर सञ्चार कम्पनी हुवावेले आगामी पाँच वर्षको अवधिमा युरोपमा दसौ अर्ब डलर खर्चिने भएको छ । वासिङटनले अमेरिकी प्रविधि कम्पनीहरुको समूहलाई हुवावेलाई प्रविधि बिक्री गर्न रोक लगाएपछिको अवस्थाको पत्यक्ष नतिजा यो भएको हवावेले जनाएको छ । यसले अमेरिकी कम्पनीहरु क्वालकम, इन्टेल, माइक्रोन र गुगललाई असर पर्नेछ  । हुवावेले प्रायजसो एक वर्षको अवधिमा सेमिकन्डक्टर, स्पेयर पार्टस् र सेवाका क्षेत्रमा १० अर्ब डलर खर्चिदै आएको छ । हुवावेले यी सामग्री आफ्नो स्मार्टफोन र नेटवर्क उपकरणका लागि प्रयोग गर्दै आएको छ ।

यो कम्पनीले आफ्नो उत्पादन चेन नबिथोलियोस भनेर चीन, जापान र युरोपमा गरिने खरिदलाई बढाउदै लगेको हुवावेका पश्चिम युरोप अध्यक्ष अर्नस्ट लीन झाङले बताए । अमेरिकी प्रतिबन्धले फाइभ–जी उपकरणको आपूर्तिमा झिनो मात्रै असर परेको पनि उनले बताए ।
मध्य अक्टोबरमा कम्पनीले आफुले ६० ग्राहकहरुलाई ४ लाख फाइभ–जी एन्टेना बिक्री गरेको जनाएको छ । यसको आधा युरोपमा मात्रै रहेको छ । हुवावेले फ्रान्सको ओरेन्ज ग्रुप र स्पेनमा टेलिफोनिकालाई यो खालको सेवाका लागि उपकरणको आपूर्ति गर्दै आएको छ ।
‘‘युरोप बाहिर हामीले आफ्नो सेवाको आपूर्ति गरेका छौ । तर यो महादेशमा हाम्रो रणनीति भनेको हाम्रा साझेदारसँगको संयुक्त लगानीमा हुनेछ,’’ झाङले बताए ।