एजेन्सी
बिहिवार, श्रावण २, २०७६
1481

नयाँ दिल्ली-कुनै समय लामो अवधिसम्म विश्वकै धनीको पगरी लगाउन सफल भएका बिल गेट्स पछिल्लो समयमा दोस्रो धनी रहिरमन पनि सफल भएनन् । उनलाई फ्रान्सेली अर्बपति बर्नाड आरनउल्टले उछिनेका छन् ।
विलाशी सामग्री निर्माता एलभीएमएचका सीईओ आरनउल्टले मंगलबार ब्लूमबर्ग बिलियिनर सूचीमा गेट्सलाई उछिनेका हुन् । सात वर्ष अगाडि सूची सार्वजनिक गर्न थालिएपछि गेट्स दोस्रो स्थानबाट तल झरेको यो पहिलो पटक हो ।

सूची अनुसार आरनउल्टसँग १०८ अर्ब डलरको सम्पत्ति रहेको छ । उनी गत वर्ष आफ्नो सम्पत्तिमा ३९ अर्ब डलर थप्नका लागि सक्षम भएका थिए । माइक्रोसफ्टका संस्थापक गेट्ससँग १०७ अर्ब डलरको सम्पत्ति रहेको छ ।
फोब्र्सले प्रकाशित गरेको अर्बपतिको सूचीमा पनि उनीहरुको स्थान राखिएको छ ।
७० वर्षीय आरनउल्टले पेरिसको नोट्रे डेम क्याथडरलको पुन निर्माणका लािग २० करोड युरो अर्थात् २२ करोड ४० लाख डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यो सहयोगसँग उनी विश्वका सञ्चार माध्यमको समाचारको शीर्षक बन्न सफल भएका थिए ।
ब्लूमबर्गका अनुसार गेट्स अझैँपनि परोपकारी काममा दान गर्ने मामिलामा पहिलो स्थानमा रहदै आएका छन् । उनले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनलाई ३५ अर्ब डलर भन्दा बढी दान गरेका छन् ।
ब्लूमबर्गको सूचीमा अमेजनका सीईओ जेफ बेजोस पहिलो स्थानमा रहदै आएका छन् । उनको कुल सम्पत्ति १२५ अर्ब डलर रहेको छ ।