एजेन्सी
बुधवार, असार ११, २०७६
440

अन्तर्राट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रूसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रूसी वैज्ञानिकहरूलाई सफलता प्राप्त भएको हो ।
कजाखस्तानको झेखाजगान सहरनजिक अन्तरिक्षयात्रीहरू सकुशल अवतरण गरेका थिए । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्षयात्रीहरूमा नासाका अन्तरिक्षयात्री आन क्याकक्लेन, वरिष्ट रूसी अन्तरिक्षयात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक केन्द्रका डेभिड सेन्ट–ज्याक्स रहेका छन् ।

नासा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरूसँग मुस्काइरहेका थिए । क्यानाडाली र अमेरिकी अन्तरिक्षयात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने छन् ।
तीनै जना अन्तरिक्षयात्री गत डिसेम्बर ३ मा रूसी अन्तरिक्ष यान सोयुजबाट अन्तरिक्षमा गएका थिए । तर, गत वर्षकै अक्टोबरमा रूसी अन्तरिक्षयात्री अलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरिक्षयात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो । उड्नासाथ दुर्घटना भए पनि उक्त यानबाट दुवै यात्रीले आपत्कालीन अवतरण गरेका थिए ।
रूसी अन्तरिक्ष विज्ञानमा सन् १९९० यता यो पहिलो दुर्घटना थियो ।
४० वर्षीया अन्तरिक्षयात्री म्याकक्लेनले गर्नुभएको ट्विटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताएका छन् । अन्तरिक्ष केन्द्रमा रहँदा उनले दुई पटक अन्तरिक्षमा हिँडेक थिए ।
सन् २०११ देखि रूसले मात्र अन्तरिक्ष केन्द्रमा मानिस पठाएको छ । अमेरिकासमेतका मुलुकले अन्तरिक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन् ।
रूसले हालसम्म सात जना पर्यटकलाई अन्तरिक्ष केन्द्रमा पठाएको छ र सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ ।