एजेन्सी
मंगलबार, असार १०, २०७६
314


चीनका राष्ट्रपति सी जिनपिङले यसै साता जापानमा आयोजना हुने जी–२० को सम्मेलनमा भाग लिने भएका छन् । उक्त अवसरमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नेछन् । उनीहरूबीचको यो वार्ता दुवै देशबीच चलिरहेको व्यापारयुद्ध समाप्त गर्ने गरी हुने र सम्झौता हुने अपेक्षा गरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले आइतबार जापानका प्रधानमन्त्री सिन्जो आबेको निमन्त्रणामा सी ओसाका सहरमा मे २७ देखि जुन २९ सम्म हुने जी–२० सम्मेलनमा सहभागी हुने बताएका छन् । पूर्वनिर्धारित बैठकभन्दा पहिला ट्रम्प र सीबीच फोनमा १८ जुनमा वार्ता भएको   थियो ।
ट्रम्पले गत वर्ष चीनसँग व्यापारयुद्धको सुरुवात गरेका थिए । ट्रम्पले चीनलाई व्यापारघाटा कम गर्न आग्रह गरेका थिए । जुन गत वर्ष ५ सय ३९ अर्ब डलर भन्दा बढीको थियो । ट्रम्पले जोड दिँदै भनेका थिए, “चीनले अमेरिकी सामग्रीलाई चिनियाँ बजारमा अधिक स्थान दिनु आवश्यक छ ।” यसपछि दुवै देशले एक–अर्का मुलुकको आयातित सामग्रीमा अर्बौं डलरको अतिरिक्त शुल्क लगाउन सुरु गरेका थिए ।
गत साता पनि ट्रम्पले अमेरिका चीनबाट आयात हुने बाँकी ३ सय अर्ब डलरको सामग्रीमा भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए । सीसँगको वार्ता असफल भएपछि यस्तो बताएका थिए । अमेरिकाले पहिलेदेखिनै २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याएको थियो । व्यापार युद्ध समाप्त गर्नका लागि उच्च स्तरीय अधिकारीको नेतृत्वमा दुवैतर्फबाट विशेष टोलीले ११ चरणको वार्ता गरिसकेका छन् । ट्रम्पले पनि फोन वार्तापछि ओसाकामा हुने भेटमा प्रगति हुने संकेत दिएका छन् ।
ट्रम्पले भने, “चिनियाँ राष्ट्रपति सीसँग फोनमा धेरै राम्रो वार्ता भएको छ । म आगामी साता जापानमा जी–२० को सम्मेलनमा बैठक गर्दैछु । हाम्रो सम्बन्धित टोली हाम्रो वार्ता अगावै वार्ता गर्नेछन् ।”