एजेन्सी
मंगलबार, असार १०, २०७६
165

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले यो विषयमा जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा उनलाई रक्षामन्त्री नियुक्त गरेका हुन् ।

पछिल्लो समयमा अमेरिका र इरानबीच निकै ठूलो विवाद जारी रहेको बताइन्छ । अमेरिकाले इरानलाई आफ्ना ट्यांकरमा आक्रमण गरेको र आफ्नो ड्रोनमाथि हमला गरी खसालिदिएको बताएको छ ।
रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रूपमा नियुक्त भएका थिए । त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले उनलाई नै रक्षामन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय अकस्मात् गरेको बताइएको थियो । सो निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री जेम्स म्याटिसले अकस्मात पदबाट राजीनामा दिएका थिए । म्याटिसले राजीनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन् । उक्त मन्त्रालयमा कामचलाउ मन्त्रीका रूपमा नियुक्त गरिँदै आइएको थियो ।
एस्पर गएको ६ महिनायता पेन्टागनलाई नेतृत्व गर्ने तेस्रो व्यक्ति भएका छन् । एस्परले प्याट्रिक सानहानलाई प्रतिस्थापन गरेका हुन् । सानहान कार्यवाहक रक्षामन्त्रीमा नियुक्त भएपछि उनका विषयमा पनि विभिन्न प्रश्न आएका थिए । उनीमाथि विशेष गरी घरेलु हिंसामा संलग्न भएजस्तो प्रश्न गरिएको थियो ।
त्यस विवादपछि उनी पनि सो पदबाट हटेका थिए । उनी पनि सैनिक नेतृत्वबाट आएका हुन् ।
रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषद्को सबैभन्दा महŒवपूर्ण मन्त्रीका रुपमा लिइन्छ । एक शक्तिशाली मन्त्रीका रूपमा रहेको सो मन्त्रीको नियुक्ति पछिल्लो यस्तो समयमा भएको छ, जुन समयमा पछिल्ला केही वर्षहरूभन्दा चर्काे रूपमा मध्यपूर्वसँग पनि अमेरिकाको विवाद चुलिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै ठूलो विवाद भएको स्वीकार गरेका छन् । उनका अभिव्यक्ति सुन्दा अमेरिका इरानको आक्रमणको अवस्था देखिन्छ ।
इरानले हालैमात्र अमेरिकाको एक ड्रोनमाथि हमला गरेर इरानी भूमिमा झारिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढेको थियो ।
इरानले सो ड्रोन आफ्नो देशको सिमानाको उल्लंघन गरी बिनाअनुमति आफ्नो भूमिमा प्रवेश गरेकाले हमला गरेर खसालिदिएको बताएको छ ।
तर इरानको यो भनाइको अमेरिकाले भने खण्डन गरेको छ । अमेरिकी भनाइअनुसार उसले इरानको सिमाना नाघेको थिएन ।
यो हमलापछि अमेरिकी ट्यांकरहरूमा इरानमा त्यहाँका अज्ञात समूहहरूले हमला गर्ने गरेका छन् । त्यस काममा इरानको हात रहिआएको अमेरिकी दाबी छ ।
तर, त्यो अमेरिकी आरोप पनि इरानले अस्वीकार गरेको छ । अमेरिकी ट्यांकरहरूमाथिको आक्रमणमा आफ्नो कुनै हात नरहेको इरानको दाबी छ ।
हाल नियुक्त भएका रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामो समयको अनुभव रहेको छ । ५५ वर्षीय एस्परको सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ ।
उनलाई सन् २०१७ मा वर्तमान राष्ट्रपति ट्रम्पले नै सैनिक सचिवमा नियुक्त गरेका थिए । उनले ‘राइदन डिफेन्स फर्म’ को कार्यकारीका रूपमाा रहेर काम गरिरहेका थिए ।