एजेन्सी
बुधवार, असार ४, २०७६
537

नयाँ दिल्ली, हाल जनसंख्याको मामिलामा भारत चीनपछि विश्वकै दोस्रो ठूलो मुलुक हो । संयुक्त राष्ट्रसंघको आर्थिक एवं सामाजिक मामिला विभाग (युएन–डीईएसए) ले हालै जारी गरेको एक रिपोर्टका अनुसार २०२७ सम्ममा भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ । हाल भारतको जनसंख्या १.३६ अर्ब र चीनको १.४२ अर्ब छ । २०५० सम्ममा भारतको जनसंख्या १.६४ अर्ब हुने सम्भावना रिपोटमा व्यक्त गरिएको छ ।
२१ औं शताब्दीको अन्त्यसम्ममा विश्वको आवादी सर्वाधिक बढी अर्थात् ११ अर्ब पुग्ने रिपोर्टमा उल्लेख गरिएको छ । २०५० सम्ममा विश्वको कुला आवादीको आधा जनसंख्या केबल ९ देशमा हुनेछ । यसमा भारत, नाइजेरिया, पाकिस्तान, कंगो, इथियोपिया, तान्जानिया, इन्डोनेसिया, इजिप्ट तथा अमेरिका समावेश छन् ।

आगामी ३० वर्षको अवधिमा विश्वको जनसंख्या करिब २ अर्बले बढेर ९.७ अर्ब हुने सम्भावना रहेको संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । हाल विश्वमा ७.७ अर्ब जनसंख्या रहेको छ । शताब्दीको अन्त्यमा यो आवादी चरम भएर करिब १०.९ अर्ब हुनेछ ।
संयुक्त राष्ट्र सघंको आर्थिक मामिला विभागका निर्देशक जोन विल्भोथले भनेका छन्, “विश्वको आवादी तीव्र दरमा वृद्धि भइरहेको छ । विगत ६९ वर्षमा विश्वको आवादी तीन गुणाले वृद्धि भएको छ ।” रिपोर्टबाट बाहिरिएर पनि अनुमान गर्दा २०५० सम्ममा विश्वको आवादी १०.१ अर्ब र २०२१ को अन्त्य सम्ममा १२.७ अर्ब हुनेछ ।
आगामी ३० वर्षको अवधिमा भारतको जनसंख्यामा २७.३ करोडले वृद्धि हुनेछ । यो दृष्टिकोणबाट २०५० सम्ममा भारतको आवादी १.६४ अर्ब हुनेछ । यो शताब्दीको अन्त्यमा भारतको १.५ अर्ब, चीनको १.१ अर्ब, नाइजेरियाको ७३.३ करोड, अमेरिकाको ४३.४ करोड र पाकिस्तानको ४०.३ करोड जनसंख्या हुनेछ ।