एजेन्सी
आइतवार, असार १, २०७६
299

केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरूका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो ।
केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताए । उनले सन् २०१८ कै हाराहारीमा सन् २०१९ को आर्थिक वृद्धि हुनु निकै राम्रो भएको बताए ।

केन्यामा मौसम खराब रहेका कारण कृषि उत्पादनमा निकै ठूलो असर पर्ने अवस्था देखिएको चर्चा गर्दै अर्थमन्त्री रोटिचले यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अन्य उपायहरू अपनाइने बताए । उनले कृषिको असरलाई पर्यटन र निर्माणका कार्यबाट भरथेग गरिने बताए । आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रोटिचले अघिल्लो वर्ष करिब ४.९ प्रतिशत रहेको आर्थिक वृद्धिमा सुधार आई सन् २०१८ मा ६.३ प्रतिशत पुगेको बताए ।
यो वृद्धि विगत आठ वर्षयताकै सबैभन्दा बढी हो र सहारा उपक्षेत्रका मुलुकको औसत ३ प्रतिशतको भन्दा झण्डै दोब्बर भएको अर्थमन्त्री रोटिचले बताए । उनले केन्याको अर्थतन्त्रलाई विविधिकरण र सुधारतर्फ अघि बढाइएको पनि बताए ।
अर्थमन्त्री रोटिचले सबैका लागि स्वास्थ्य, उत्पादन, खाद्य सुरक्षाजस्ता कार्यक्रमका कारण केन्याको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि पुग्ने अनुमान पनि गरिएको बताए ।
उनले नयाँ प्रस्तावित बजेटले स्थानीय व्यवसायिक वातावरण तयार गर्न निकै ठूलो मद्दत गर्ने जानकारी दिए । केन्या स्वतन्त्र भएयता रोटिचले पेस गरेको यो सबैभन्दा ठूलो बजेट हो ।