एजेन्सी
आइतवार, असार १, २०७६
152

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।
पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए । उनले बेपत्ता भएका व्यक्तिहरू परिवारको सम्पर्कमा नआएको पनि बताए ।

उक्त घटनाका बारेमा अधिकारीहरूले भने कुनै टिप्पणी गरेका छैनन् ।
तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन् । तर, भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो–होइन भन्ने एकिन हुन सकेको छैन ।
एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो । हालसम्म ८० जना बेपत्ता छन् ।
यसअघिका दुईवटा डुंगा क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोतर्फ हिँडेका थिए ।
परिवारका सदस्यहरूका अनुसार आप्रवासी प्रत्येक व्यक्तिले समुद्र पार गर्न ४ सय अमेरिकी डलर तिर्नुपर्छ । संयुक्त राष्ट्रसंघले भेनेजुएलाका ३ करोड जनसंख्यामध्ये एकतिहाइलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ ।
राष्ट्रसंघले विगत तीन–चार वर्षको अवधिमा झन्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएको उल्लेख गरेको छ । तर, विदेशमन्त्री जर्ज एरेजाले राष्ट्रसंघको तथ्यांक गलत रहेको दाबी गरेका छन् ।