एजेन्सी
आइतवार, असार १, २०७६
184

ओमानको सामुद्रिक क्षेत्रमा पेट्रोलियम पदार्थ (तेल) लिएर आफ्नो गन्तव्यतर्फ हिँडिरहेका दुई ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिका–इरानबीच वार्ताका लागि चीनले आग्रह गरेको छ ।
बिहीबार ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको छ भने इरानले घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । तर चीनले घटनाले खाडी क्षेत्रको समस्यालाई चर्काउन सक्ने भन्दै यसप्रति समयमै संयमता अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारसँगको नियमित भेटमा भने, “तेल ट्यांकरमाथि भएका आक्रमणबारे सम्बन्धित पक्षले आफ्ना मतभिन्नतालाई सही तरिकाबाट समाधान गर्न सक्ने विश्वास चीनको रहेको छ । उनीहरूले द्वन्द्वलाई वार्ता र परामर्शबाट टुङ््याउनु राम्रो हुनेछ ।”
उनले भने, “यो खाडी क्षेत्रका मुलुकहरूको चासोको विषय हो र घटना विश्व समुदायको चासोको पनि विषय हो ।”
विस्फोटबाट क्षति भएका दुईमध्ये एक नर्वेली र एक जापानी कम्पनीको तेल ट्याङ्कर रहेका र उनीहरूले खाडी क्षेत्रबाट तेल लिएर आ–आफ्नो देशतर्फ गएको हुन सक्ने विश्वास गरिएको छ । यद्यपि यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले घटनामा इरानको संलग्नता भएको बलियो आधार रहेको भन्दै वासिङ्टन आफ्ना सहयोगी मुलुकहरूको सुरक्षाका लागि प्रतिबद्ध रहेको दाबी गरेका छन् ।
इरानको विदेशमन्त्रालयले प्रेस विज्ञप्तिमार्फत आरोपको खण्डन गरेको छ । तेहरानले आरोप पूर्ण रूपमा ‘आधारहीन’ रहेको इरानको दाबी छ ।
तेल प्रयोगका हिसाबले विश्वका प्रमुख आठ ठूला मुलुकमध्ये चीनले गत वर्ष इरानमाथि अमेरिकी प्रतिबन्धपछि पनि तत्कालका लागि तेल आयात गर्न सक्ने बताएको थियो । तर, उक्त छुटको प्रावधान मे महिनामा अन्त्य भएको अमेरिकाले घोषणा गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले किर्गिजस्तानको बिस्केकमा भएको इरानी समकक्षी हसन रौहानीसँगको भेटमा इरानी आणविक सम्झौताको समर्थनमा चीनको पूर्ण सहयोग रहने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।