एजेन्सी
आइतवार, असार १, २०७६
157

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरूलाई भ्रष्टाचारविरुद्ध सामूहिक रूपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरूको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए ।
इजिप्टको पर्यटकीय सहर शार्म अल–शेखमा आयोजित दुईदिने अफ्रिकी भ्रष्टाचारविरोधी मञ्च (एएसीएफ) को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा राखेका हुन् ।

उनले भ्रष्टाचारविरुद्ध लड्न राजनीतिक, व्यवस्थापिका, कानुनी र नियामक क्षेत्रमा आमूल सुधार आवश्यक औंल्याए । राष्ट्रपति सिसीले इजिप्टमा भ्रष्टाचारविरुद्ध लड्न हालैका वर्षमा धेरै उपाय अपनाइएको बताए ।
राष्ट्रपति सिसीले भ्रष्टाचार हुनुको कारण पत्ता लगाउन इजिप्टमा अनुसन्धान, अध्ययन र मत सर्वेक्षण पनि गरिएको जानकारी दिए ।
अफ्रिकी युनियनको अध्यक्षता हाल इजिप्टले गरिरहेको छ ।
उनले भ्रष्टाचारविरुद्ध लड्न अफ्रिकाका मुख्य साझेदारहरूबीच गहिरो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकामा जोड दिए । “हाम्रो दृढ विश्वास के छ भने भ्रष्टाचारविरुद्ध लड्न र हाम्रो महादेशको अवस्थामा परिवर्तन ल्याउन साझा प्रयत्न, सामूहिक दृष्टिकोण र अफ्रिकी संयन्त्रको समन्वयात्मक प्रयत्नको बढावा नै मुख्य पक्ष हो ।”