एजेन्सी
आइतवार, असार १, २०७६
227

वासिङटन-वालमार्ट समेत ६०० भन्दा बढी अमेरिकी कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध रोक्नका लागि आग्रह गरेका छन् । चीनमाथि आयात शुल्क लगाउनाले अमेरिकी अर्थतन्त्रमा नोक्सानी पुग्ने भन्दै उनीहरुले अमेरिकी राष्ट्रपतिलाई युद्ध रोक्नका लागि चेतावनी दिएका हुन् । यसबाट अमेरिकी नागरिकको रोजगारी गुम्ने र हजारौ उपभोक्ता प्रभावित हुने तर्क उनीहरुले राखेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार खुद्रा बिक्रेता, म्यानुफ्याक्चरर तथा प्रविधि क्षेत्रका कम्पनी समेत अमेरिकाका उद्योग संगठनले ट्रम्पलाई चिठ्ठी लेखेर चीनसँगको व्यापार युद्ध रोक्नका लागि माग गरेका छन् ।
अतरिक्त आयात शुल्क लगाउनाले अमेरिकाको व्यापार, किसान तथा सामान्य मानिसममा लामो अवधिसम्म नकारात्मक असर पर्ने अमेरिकी कम्पनीको भनाई छ । व्यापार युद्धले दुवै देशलाई हानी पुग्ने तर्क उनीहरुको छ ।

गत महिना अमेरिकाले २०० अर्ब डलरका चिनियाँ आयातमा शुल्क १० प्रतिशचतबाट बढाएर २५ प्रतिशत पु-याएको थियो । भन्सार शुल्क बढेका सामग्रीमा लगेज, म्याट्रेस, ह्यान्डब्याग, साइकल, भ्याक्यूम क्लिनर तथा एसी समावेश छन् । ट्रम्पले ३०० अर्ब डलरका अतिरिक्त आयातमा पनि भन्सार शुल्क लगाउने धम्की दिएका छन् । यसमा खेलौना, कपडा, जुत्ता, टिभी तथा घरेलु उपकरण समावेश छन् ।
अमेरिकी कम्पनीका अनुसार चीनबाट आउने बस्तुमा आयात शुल्क लगाउनाले शुल्क चीनले होइन उनीहरुलेनै व्यहोर्नु पर्नेछ । यसमा वृद्धि हुने तथा अमेरिका–चीनबीचको व्यापार वार्तालाई लिएर देखिएको अनिश्चितताका कारण बजारमा हाहाकार मच्चिएको छ ।
कम्पनीको एक नयाँ रिपोर्टका अनुसार ३०० अर्ब डलरका अतिरिक्त चिनियाँ आयातमा २५ प्रतिशतको भन्सार शुल्क लाग्नाले ४ सदस्यीय अमेरिकी परिवारको औसत मासिक खर्च २००० डलरले बढ्नेछ ।
औद्योगिक संगठनसँग काम गर्ने कन्सल्टिङ फर्म ट्रेड पार्टनरसिपका अनुमान अनुसार कपडा बनाउने कम्पनीले चीन बाहेकका अन्य क्षेत्रमा उत्पादन गरेर निर्यात गरेपनि अमेरिकामा कपडाको मूल्य ५ प्रतिशत महँगो हुन जान्छ ।
शुल्क बढ्नाले जुत्ता ८ प्रतिशत र खेलौना १६ प्रतिशत महँगो हुन जान्छ । अमेरिकामा यी दुवै बस्तुको सबैभन्दा ठूलो आपूर्तिकर्ता मुलुकको रुपमा चीन रहदै आएको छ । नाइक, एडिडास तथा अन्डर आर्मर जस्ता कम्पनीले मे महिनामा चीनबाट आयात हुने जुत्तामा २५ प्रतिशतको शुल्क लागु भयो भने ग्राहकलाई ठूर्लै समस्या आउने चेतावनी दिएका थिए ।
रिपोर्टका अनुसार आयात शुल्क बढ्नाले घरेलु उपकरणको मूल्य ३ प्रतिशतले बढ्न जाने छ । यात्रासँग सम्बन्धित सामग्री १० प्रतिशत महँगो हुन जान्छ । नेशलन रिटेल फेडरेसनका वरिष्ठ उपाध्यक्ष डेभिड फ्रेन्चका अनुसार नयाँ शुल्क लगाउनाले ट्रम्पको भोट बैंक पनि प्रभावित हुन्छ ।