एजेन्सी
शुक्रवार, जेठ ३१, २०७६
246

बेलायतले २०५० सम्ममा कार्बन उत्सर्जन शून्य गर्ने लक्ष्य निर्धारित गरेको छ । पर्यावरण सुरक्षाका लागि कार्बन उत्सर्जनको मात्रा शून्य गर्ने लक्ष्यमा यो मुलुक तीव्र दरमा अगाडि बढेको छ ।
बुधबार पर्यावरणमा चर्चा गर्दै प्रधानमन्त्री टेरेजा मेले भनिन्, “हाम्रा बच्चाका लागि सुरक्षात्मक कदम उठाउन आवश्यक छ ।” बेलायतले २००८ देखि २०५० सम्म कार्बन उत्सर्जन ८० प्रतिशत कम गर्ने दिसामा कार्य गरिरहेको छ । तर, बुधबार सरकारको लक्ष्यलाई अगाडि बढाउँदै शतप्रतिशत कार्बन उत्सर्जन समाप्त गर्ने संकल्प लिइएको छ ।

पर्यावरणलाई राम्रो बताउने सिलसिलामा २००८ मा बनेको मौसम परिवर्तनसम्बन्धी कानुनमा संशोधन गरिएको छ । प्रधानमन्त्री टेरेजाले भनिन्, “आफ्नो बच्चाका लागि हामीले पर्यावरणको सुरक्षाको कामलाई थप तीव्र दरमा बढाउनु आवश्यक छ । यो समयको माग हो ।” “बेलायतले नै विश्वलाई औद्योगिक क्रान्तिको बाटोमा अगाडि बढाएको थियो । अब विश्वको सफाइ गर्नु आवश्यक छ र बेलायतले विश्वलाई हराभरा मार्गमा डो¥याउने विषयको नेतृत्व गर्नु आवश्यक छ,” उनको भनाइ थियो ।
बेलायतका सांसदले भारी बहुमतका साथ सरकारको कार्बन उत्सर्जन शून्य गर्ने प्रस्तावमा समर्थन गरेका छन् । जी–७ देशमा समावेश बेलायत यस किसिमको घोषणा गर्ने पहिलो मुलुक हो । जी–७ मा विश्वका शीर्ष औद्योगिक अर्थतन्त्र भएका मुलुकहरू छन् ।
ब्रिटेनको यो पछिल्लो घोषणाको मतलब घर, यातायात, कृषि तथा उद्योगबाट वातावरणमा कार्बन छोड्न ग्यासको उत्सर्जन शून्य गर्नु हो, जुन कार्बन उत्सर्जनलाई रोक्न सकिँदैन, त्यसलाई पनि सोस्नका लागि ठूलो संख्यामा रूख रोपिने भएको छ । यसरी कार्बन उत्सर्जनलाई पूर्ण रुपमा शून्यमा झार्न सकिन्छ । पेरिस पर्यावरण सम्झौताको रूपरेखा तयार गर्ने लरेन्स ट्युबियानाले भनेका छन्, “बेलायतको यो संकल्प ऐतिहासिक छ । यो विश्वका लागि बहुत सकारात्मक सन्देश हो, जसले परिवर्तनको मार्ग देखाउँछ ।”