एजेन्सी
बुधवार, जेठ २९, २०७६
289

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब ६ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरूले बताएका छन् ।
नाइजेरियाली शिक्षक युनियन (एनयुटी) का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरू निर्माण गरिरहेको भए पनि शिक्षकको चरम अभाव रहेको बताए ।

उनले शिक्षकहरूलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याइए शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुने पनि बताए ।
बोर्नोको राजधानी सहर माइदीगुरीमा बोल्दै उनले राज्यमा बोकोहराम आतंकवादीका कारण सहाराविहीन भएका करिब ५३ हजार बालबालिकाका लागि ४० वटा ठूला विद्यालय खोलिए पनि त्यहाँ राम्रोसँग पठनपाठन हुन अझै नसकेको बताए ।
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंकवादी समूह बोकोहरामका कारण विद्यालय शिक्षाको अवस्था अत्यन्त नाजुक बनेको छ । मुहम्मदले सिकाइ र पढाइका लागि बार्नोमा ५ हजार प्राथमिक तह र १ हजार माध्यमिक तहका शिक्षक आवश्यक भइसकेको बताए ।
बोकोहरामको आक्रमणबाट सबैभन्दा बढी प्रभावित शिक्षकहरू भएका छन् । बोकोहरामकै कारण बोर्नोमा करिब ५ सय ३० जना शिक्षक मारिएका छन् भने ३२ हजारभन्दा बढी विस्थापित भएका छन् ।
तेलको धनी पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शिक्षकहरूले सबैभन्दा कम तलब पाउँछन् ।
हिंसाका कारण सन् २००९ यता मात्र बोर्नोमा करिब २७ हजार मानिस मारिएका छन् ।