एजेन्सी
मंगलबार, जेठ २८, २०७६
969

चीनले गत महिना समग्रमा ४१.६५ अर्ब डलरको व्यापार बचत गरेको छ । अपेक्षाभन्दा ठूलो अन्तरको यो व्यापार बचतले वासिङ्टन र बेइजिङबीचको व्यापार गतिरोधमा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।
एक मत सर्वेक्षणका अनुसार मे महिनामा चीनले समग्रमा २०.५ अर्ब डलरको व्यापार बचत गर्ने अपेक्षा गरिएको थियो ।

गत महिना देशको डलर अंकित निर्यातमा अप्रत्याशित वृद्धि भएसँगै यो विशाल आकारको व्यापार बचत भएको हो । यद्यपि आयात भने अपेक्षाभन्दा खराब भएको छ ।
मे महिनामा निर्यात वार्षिक मापनका आधारमा १.१ प्रतिशतले वृद्धि भएको र आयातमा ८.५ प्रतिशतले गिरावट आएको चीनको सामान्य भन्सार प्रशासनले जनाएको छ ।
एक सर्भेमा मे महिनामा वार्षिक मापनका आधारमा निर्यात र आयात दुवै ३.८ प्रतिशतले ओर्लने प्रक्षेपण गरिएको थियो ।
अप्रिलमा चीनको समग्र व्यापार बचत १३.८ अर्ब डलर थियो । यो प्रक्षेपित ३५ अर्ब डलरको दाँजोमा ठूलो अन्तरले कम थियो । आयातमा भएको अप्रत्याशित ४ प्रतिशतको वृद्धि र निर्यातमा २.७ प्रतिशतको गिरावटका कारण व्यापार बचतमा पनि कमी आएको हो ।
यसैबीच अमेरिकासँगको व्यापार बचत अप्रिलको २१.०१ अर्ब डलरको तुलनामा ह्वात्तै बढेर २६.८९ अर्ब डलर पुगेको चिनियाँ भन्सारको तथ्यांकले देखाएको छ ।
दुई मुलुकबीचको विशाल व्यापार असन्तुलनका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने अमेरिकी आयातमा भन्सार शुल्क बढाउने बताउँदै आएका छन् । तर, ट्रम्पले २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा गत महिना भन्सार शुल्क बढाएपछि अमेरिका र चीनबीचको उच्च तहको छलफल रोकिएको छ । उनले बेइजिङले वार्ता तोडेको आरोप लगाउँदै थप चिनियाँ सामग्रीमा भन्सार दर बढाएका हुन् ।