एजेन्सी
सोमवार, जेठ २७, २०७६
3826

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई कालोसूचीमा राखेपछि गत महिना अमेरिकी सेमिकन्डक्टरको सेयर मूल्य नराम्ररी प्रभावित भएको छ ।
सेमिकन्डक्टर अमेरिकाको ठूलो प्रविधि निर्यात हो र चीन महत्वपूर्ण बजार रहँदै आएको छ । चीनका इलेक्ट्रोनिक्स म्यानुफ्याक्चररहरू अमेरिकी चिप्समा ठूलो परिमाणमा निर्भर रहँदै आएकाले पनि अमेरिकाले चीनमा चिप्सको निर्यात रोक्दा अमेरिकी चिप्स निर्माता नै प्रभावित भएका छन् ।

गत महिना ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशमा वाणिज्य मन्त्री विल्बर रोसलाई अमेरिकी राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम सिर्जना गर्ने सूचना तथा सञ्चार प्रविधिमा अवरोध गर्न अनुमति दिएको थियो । यो सूचीमा हुवावे पनि परेको थियो । यो कम्पनीलाई सामग्री निर्यात गर्नका लागि अमेरिकी कम्पनीलाई अनुमतिको आवश्यकता पर्छ ।
यो कदमले अमेरिकी चिप फर्महरूको व्यवसाय र सेयर मूल्यमा नराम्रो असर परेको छ ।
सेमिकन्डक्टरको अवस्था देखाउने विनिमय कारोबार कोष (ईटीएफ) को संख्या गत महिना नास्ड्याक कम्पोजिटमा खराब देखिएको छ । क्वालकम र टेक्सास इन्ट्रुमेन्टलाई पनि समावेश गर्ने ईटीएफ गत महिना ३४ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । प्रोसेयर्स अल्ट्रा सेमिकन्डक्टर्स पनि २५ प्रतिशतले ओरालो लागेको छ ।
गत महिना नास्ड्याक कम्पोजिट पनि ७.४ प्रतिशतले ओरालो लागेको थियो ।
हुवावेलाई आपूर्ति गर्ने केही अमेरिकी सप्लायरहरूले चिनियाँ फर्मलाई कालोसूचीमा राख्नाले उनीहरूको वित्तीय भूमिकामा असर परेको बताएका छन् । कोर्भो, स्काइवक्र्स र लुमेन्टम सबैले चालू त्रैमासिक अवधिका लागि आफ्नो आम्दानी प्रक्षेपण घटाएका छन् । गत महिना कोर्भोको सेयर मूल्यमा १३.६ प्रतिशतले गिरावट आएको थियो भने स्काईवक्र्स र लुमेन्टमको सेयर मूल्यमा झन्डै क्रमशः २० र २८.५ प्रतिशतले गिरावट आएको छ ।
अमेरिका र चीनबीच व्यापार सम्झौता हुने अपेक्षामा वर्षको केही महिनाको अवधिमा सेयर मूल्यमा वृद्धि भएको सीएलएसएका विश्लेषक सेबास्टियन होउले बताए । तर, कुनै सम्झौता नभएपछि सेयर मूल्य ओरालो लागेको उनले बताए । हुवावेलाई कालोसूचीमा राख्नाले सेमिकन्डक्टरका सेयर मूल्यमा थप गिरावट आएको उनको भनाइ थियो ।
“हुवावेलाई कालोसूचीमा राखिएको छ । यसले दोस्रो अर्धवार्षिक अवधिमा मागमा कमी आउने चिन्ता लगानीकर्तामाझ परेको छ । यसले केही प्रविधि कम्पनीलाई आफ्नो निर्देशिकामा कटौती गर्न बाध्य बनाएको छ,” होउले भने ।
चीनले पनि अमेरिकामथिको निर्भरता कम गर्न आफ्नै सेमिकन्डक्टर उद्योगको विकास गरिरहेको छ । तर, यसका लागि लामो समय लाग्छ । अन्ततः यसले अमेरिकी चिप निर्मातालाई नै हानि पुग्नेछ ।