एजेन्सी
सोमवार, जेठ २७, २०७६
250

मस्को, चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो घनिष्ठ साथी भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेसनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि इच्छुक नभएको उनले बताएका हुन् ।
अमेरिकासँग रूसको सम्बन्ध तल्लो स्तरमा रहेका समयमा सीले रूसी राष्ट्रपतिसँग न्याना शब्दहरूको पनि साटासाट गरेका थिए ।

तर प्लेनरी सत्रमा सीले अमेरिका र चीनबीचको सम्बन्ध बलियो रहने बताएका छन् ।
“अमेरिकालाई चीनबाट र चीनलाई अमेरिकासँग पूर्ण रूपमा छुट्टिएर बस्ने विषयको कल्पना गर्न मुस्किल छ । हामी यसमा रुचि राख्दैनौं र हाम्रा अमेरिकी साझेदार पनि यसमा इच्छुक छैनन् । राष्ट्रपति ट्रम्प मेरा साथी हुन् र उनी यसप्रति इच्छुक छैनन् भन्ने विषयमा म विश्वस्त छु,” सीले चिनियाँ भाषामा भने । यसलाई रूसी भाषामा व्याख्या गरिएको थियो र रोयटर्सले अंग्रेजीमा अनुवाद गरेको थियो ।
अमेरिकासँगको व्यापारयुद्धका बारेमा सोधिएको प्रश्नमा उनले भने, “चीन सधैं विश्वव्यापीकरणको प्रवद्र्धनको पक्षमा रहन्छ ।”
“यो ठूलो छालको सानो हिस्सा हो, जसले सानो परिवर्तन मात्रै ल्याउँछ । तर, यसले समग्रमा विश्वव्यापीकरणलाई रोक्न सक्दैन,” उनले भने ।
विश्वव्यापी व्यवस्था र संगठनहरूले तय गरेको सर्तमा सुधारको आवश्यकता भएको तर समग्र व्यवस्थामै फेरबदल गर्न आवश्यक नभएको उनले बताए ।
बुधबार सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो सबैभन्दा मिल्ने साथी भएको बताइसकेका थिए ।
“विगतका ६ वर्षको अवधिमा उनले पुटिनसँग झन्डै ३० पटक भेटिसकेका छन् । रूस मैले धेरै भ्रमण गरेको मुलुक हो र राष्ट्रपति पुटिन मेरा सबैभन्दा मिल्ने साथी हुन् र सहपाठी पनि हुन्,” सीले बुधबारको पत्रकार सम्मेलनका अवसरमा बताएका थिए ।