एजेन्सी
आइतवार, जेठ २६, २०७६
269

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई कालो सूचीमा राखेपछि गत महिना अमेरिकी सेमिकन्डक्टरको सेयर मूल्य नराम्ररी प्रभावित भएको छ ।

सेमिकन्डक्टर अमेरिकाको ठूलो प्रविधि निर्यात हो र चीन महत्वपूर्ण बजार रहदै आएको छ । चीनका इलेक्ट्रोनिक्स म्यानुफ्याक्चररहरु अमेरिकी चिप्समा ठूलो परिमाणमा निर्भर रहदै आएकाले पनि अमेरिकाले चीनमा चिप्सको निर्यात रोक्दा अमेरिकी चिप्स निर्मातानै प्रभावित भएका छन् ।
गत महिना ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशमा वाणिज्य मन्त्री विल्बर रोसलाई अमेरिकी राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम सिर्जना गर्ने सूचना तथा संचार प्रविधिमा अवरोध गर्न अनुमती दिएको थियो । यो सूचीमा हुवावे पनि परेको थियो । यो कम्पनीलाई सामग्री निर्यात गर्नका लागि अमेरिकी कम्पनीलाई अनुमतीको आवश्यकता पर्छ ।
यो कदमले अमेरिकी चिप फर्महरुको व्यवसाय र सेयर मूल्यमा नराम्रो असर परेको छ ।
सेमिकन्डक्टरको अवस्था देखाउने विनिमय कारोबार कोष (ईटीएफ) को संख्या गत महिना नास्ड्याक कम्पोजिटमा खराब देखिएको छ । क्वालकम र टेक्सास इन्ट्रुमेन्टलाई पनि समावेश गर्ने ईटीएफ गत महिना ३४ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ । प्रोसेयर्स अल्ट्रा सेमिकन्डक्टर्स पनि २५ प्रतिशतले ओरालो लागेको छ ।
गत महिना नास्ड्याक कम्पोजिट पनि ७.४ प्रतिशतले ओरालो लागेको थियो ।
हुवावेलाई आपूर्ति गर्ने केही अमेरिकी सप्लायरहरुले चिनियाँ फर्मलाई कालो सूचीमा राख्नाले उनीहरुको वित्तीय भूमिकामा असर परेको बताएका छन् । कोर्भो, स्काइवक्र्स र लुमेन्टम सबैले चालू त्रैमासिक अवधिका लागि आफ्नो आम्दानी प्रक्षेपण घटाएका छन् । गत महिना कोर्भोको सेयर मूल्यमा १३.६ प्रतिशतले गिरावट आएको थियो भने स्काईवक्र्स र लुमेन्टमको सेयर मूल्यमा झन्डै क्रमशः २० र २८.५ प्रतिशतले गिरावट आएको छ ।
अमेरिका र चीनबीच व्यापार सम्झौता हुने अपेक्षामा वर्षको केही महिनाको अवधिमा सेयर मूल्यमा वृद्धि भएको सीएलएसएका विश्लेषक सेबास्टियन होउले बताए । तर कुनै सम्झौता नभएपछि सेयर मूल्य ओरालो लागेको उनले बताए । हुवावेलाई कालो सूचीमा राख्नाले सेमिकन्डक्टरका सेयर मूल्यमा थप गिरावट आएको उनको भनाई थियो ।
“हुवावेलाई कालो सूचीमा राखिएको छ । यसले दोस्रो अर्ध वार्षिक अवधिमा मागमा कमी आउने चिन्ता लगानीकर्तामाझ परेको छ । यसले केही प्रविधि कम्पनीलाई आफ्नो निर्देशिकामा कटौती गर्नका लागि बाध्य बनाएको छ,” होउले भने ।
चीनले पनि अमेरिकामथिको निर्भरता कम गर्नका लागि आफ्नै सेमिकन्डक्टर उद्योगको विकास गरिरहेको छ । तर यसका लागि लामो समय लाग्छ । तर यसले अन्तत अमेरिकी चिप निर्मातालाईनै हानी पुग्ने छ ।