कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६
209

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत युरोपेली संघ (ईयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ व्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टेरेजा मेसँग मंगलबार भएको भेटमा बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले ब्रेक्जिट प्रक्रिया अगाडि बढाउने क्रममा मिलेको असफलतासँगै बिदा लिने मनस्थितिमा पुगेकी बेलायती प्रधानमन्त्री मेसँग उच्च व्यवसायी तथा मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने, “मलाई लाग्छ, अमेरिका र बेलायतबीच निकै अर्थपूर्ण व्यापार सम्झौता हुनु जरूरी छ, जुन निकै स्वच्छ तथा स्पष्ट सम्झौता हुनेछ ।”

उनले थपे, “हामीले सम्झौता गरेरै छाड्नेछौँ ।”
बेलायतमा प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौतालाई अनुमोदन गराउने पहललाई संसद्ले पटक–पटक अस्वीकार गरेपछि मे प्रधानमन्त्रीबाट बिदा लिने मोडमा रहेको उनीनिकट रहेका सहयोगीहरूले पटक–पटक दोहो¥याउँदै आएका बेला अमेरिकी राष्ट्रपतिले भने प्रधानमन्त्री मेले ‘असाधारण कार्य’ गरिरहेको ठट्यौली प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणका क्रममा कतिपय समूहले उनको भ्रमणप्रति नै विरोध जनाइरहेका पनि छन् ।
यसैबीच मध्यपूर्वको शान्तिका लागि ट्रम्पका सल्लाहकार जरेद कुस्नरले मंगलबार ब्रसेल्समा युरोपेली नेता जाँ क्लाउड यंकरलगायतका नेताहरूसँग भेट गर्ने बताइएको छ ।
लन्डनमा रहेका कुस्नर अमेरिकी शान्ति योजनासहित युरोप जाने र यस विषयमा त्यहाँका नेताहरूसँग भेट्ने तथा मध्यपूर्वको शान्ति र भूराजनीतिक विषयमा छलफल गर्ने कार्यक्रम छ ।