एजेन्सी
शुक्रवार, जेठ १०, २०७६
223

चीनको दक्षिण–पश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण ७ लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।
विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्ण रूपमा नष्ट भएको छ ।

यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ ।
अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरू पनि बन्द गरिएको छ । स्थानीय सरकारहरूले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई स्वास्थ्यसमेतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
सुख्खासँग जुध्न प्रान्तीय सरकारले १ सय ७६ वटा पानी ट्यांकर पठाएको छ । यी ट्यांकरको पानी खेतीबालीका लागि प्रयोग गरिने सरकारले जनाएको छ ।
खानेपानीको अभाव समेत झेलिरहेका करिब ३० हजार मानिसका लागि यी ट्यांकरबाट पछिल्लो समय झन्डै पाँच हजार ६ सय ४३ टन पानी वितरण गरिएको छ ।