एजेन्सी
आइतवार, जेठ ५, २०७६
491

चीन र अमेरिकाबीचको व्यापारयुद्धको असर भारतमा पनि पर्ने भएको छ । विशेष गरी आइफोन प्रयोगकर्तालाई यो फोन महँगो हुन सक्छ । अमेरिका–चीनबीच जारी व्यापारयुद्धको बीचमा चीनका तर्फबाट लगाइने नयाँ शुल्कले एप्पलको आइफोन निर्माण लागतमा ३ प्रतिशतको वृद्धि हुन सक्छ ।
फर्चुन म्यागेजिनका अनुसार भेडबस विश्लेषक डेन इब्सले लगानीकर्तासँग भनेका छन्, “आइफोनको चीन निर्मित ब्याट्री तथा अन्य उपकरणमा शुल्क बढाइनाले यसको निर्माण लागत २–३ प्रतिशतले बढ्न जान्छ ।” उदारहरणका लागि आइफोन एक्सको मूल्य ९९९ डलरबाट बढेर १ हजार २९ डलर पुग्छ ।

यदि ट्रम्प प्रशासन चिनियाँ वस्तुमा कर बढाउने योजन बनाउँछ भने एप्पलको मूल्य थप बढ्न सक्ने डेन इब्सले बताएका छन् । यदि यस्तो हुन्छ भने आइफोनको प्रत्येक उत्पादनको मूल्य १२० डलर सम्म बढ्न सक्छ ।
अमेरिका–चीनबीचको व्यापारयुद्ध १० मेमा एक नयाँ चरणमा प्रवेश गरेको थियो । उक्त समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २ सय अर्ब डलरको चिनियाँ वस्तुमा नयाँ शुल्कको घोषणा गरेका थिए । यसको जवाफमा चीनले सोमबार अमेरिकामा बनेका कफी, ब्याट्री तथा अन्य उत्पादनमा ६० अर्ब डलरको शुल्क लगाउने घोषणा गरेको थियो । यी वस्तुमाथिको शुल्क १ जुनदेखि कार्यान्वयनमा आउनेछ ।
चीनसँग १ वर्षभन्दा पनि बढी अवधिदेखि चलेको शुल्क युद्धका कारण अमेरिकाका कम्पनीहरू आयातका लागि भारत, थाइल्यान्ड, कम्बोडियो, इन्डोनेसिया तथा टर्कीजस्ता देशतर्फ ढल्किन परेको छ ।