एजेन्सी
बुधवार, जेठ १, २०७६
166


इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु हुनुका साथै अरू दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ ।

उद्धारकर्ताहरूले खानीबाट पाँच जनाको शव निकालेका छन् । बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा उक्त दुर्घटना भएको हो । खानीमा फसेका अरू व्यक्तिको खोजी भइरहेको पनि बताइएको छ ।
खानी दुर्घटनामा बाँचेकाहरूले भने खानीभित्र अरू १५ जना पुरिएको बताएका छन् । निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुन सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए ।
कठिन भौगोलिक अवस्था र निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाइ रहेको पनि उनले बताए ।
इन्डोनेसियामा पुराना सुनखानी धेरै रहेका र तिनीहरू परम्परागत रूपमै सञ्चालनमा रहेका छन् । खासगरी पहाडी दुर्गम इलाकाहरूमा यी सुनखानी छरिएर रहेका छन् ।