एजेन्सी
बुधवार, बैशाख ११, २०७६
647

बेइजिङ-बेइजिङ अमेजनले चीनमा रहेको अनलाइन स्टोर बन्द गर्ने निर्णय गरेको छ । चीनमा कम्पनीको व्यापार कमजोर बन्दै गएपछि अमेजनले यस्तो योजना ल्याएको हो ।
कम्पनीले जुलाईदेखि चीनको स्थानीय बजारमा अमेजन उपलब्ध नहुने बताएको छ । तर, चिनियाँ व्यवसायीहरूले विश्वव्यापी स्टोरबाट अफ्ना सामग्रीका लागि अर्डर दिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

अमेजनले चीनमा आफ्नो क्लाउड व्यवसाय पनि जारी राख्नेछ । चीनमा अलिबाबा र जेडी डटकमजस्ता अनलाइन कम्पनीसँगको तीव्र प्रतिस्पर्धाबीच अमेजनले यस्तो निर्णय गरेको हो ।
चीनमा अहिले प्रदान गरिएका सेवा तत्कालका लागि जारी रहने कम्पनीले बताएको छ । जुलाई १८ पछि भने ग्राहकहरूले अमेजनका सामग्रीहरू विश्वव्यापी स्टोरबाट खरिद गर्नुपर्नेछ ।
अमेजनले सन् २००७ मा चीनका लागि अमेजन डटसीएनको स्थापना गरेको थियो ।
पछिल्लो समय अमेजन आफ्नो लगानी भारतमा सार्ने क्रममा छ । अमेजनले भारतमा अनलाइन व्यापारका लागि ५ अर्ब ५० करोड डलर लगानी गरेको छ । गत वर्ष अमेजनले भारतमा ग्राहक आकर्षित गर्न हिन्दी भर्सनको वेबसाइट र स्मार्टफोनको एक एप पनि सार्वजनिक गरेको थियो ।