एजेन्सी
सोमवार, बैशाख ९, २०७६
435

कोलम्बो-श्रीलंकामा भएका छुट्टाटुट्टै बम विस्फोटका घटनामा मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । चर्च र होटलहरूमा भएका विस्फोटमा परी ३ सय जना घाइते भएका छन् ।
कोलम्बोमा भएको विस्फोटमा ४७, नेगम्बोमा ५० र बट्टिकोलामा २५ जनाको मृत्यु भएको हो । अहिलेसम्म प्राप्त जानकारीअनुसार श्रीलंकाका कम्तीमा पनि छ स्थानमा बम विस्फोट भएको छ । जसमध्ये कोच्चीकाड, नेगोम्बो र बाटिकोला चर्चमा ईस्टर सन्डेलाई लक्षित गरेर विस्फोट गराइएको थियो । यस्तै कोलम्बोका सुविधा सम्पन्न होटलहरू सांग्रिला, सिनामोन ग्रान्ड र किंग्सबेरीमा पनि विस्फोट गराइएको बीबीसीले जनाएको छ ।

इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सन्डे चलिरहेका बेला चर्च र होटलमा विस्फोट भएको हो । विस्फोटमा परी घाइते भएकाहरूको कोलम्बोका अलग–अलग अस्पतालहरूमा उपचार भइरहेको छ ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् । सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् । श्रीलंकाली मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाइएको छ ।