एजेन्सी
सोमवार, बैशाख २, २०७६
488

बेइजिङ-विश्वकै सर्वोच्च शिखर सगरमाथा पनि फोहोरको समस्यासँग जुझिरहेको छ । यहाँ बढ्दै गएको मिल्किएका फोहोरको समस्यासँग जुझ्नका लागि चीनले विशेष पहल गरेको छ । चीनले सगरमाथामा अब चाँडै नै वातावरणमैत्री शौचालय बनाउने भएको छ । पर्यावरणअनुकूल बनाइने यो शौचालय सगरमाथाको ७ हजार २८ मिटरको उचाइस्थित एक चिनियाँ शिविरमा हुनेछ ।
सगरमाथामा विगत कैयौं दशकदेखि व्यापारिक पर्वतारोहण बढ्दै गइरहेको छ । यसले गर्दा सगरमाथामा पनि फोहोरको डुंगुर जम्मा हुन थालेको छ । तर, ठूलो धनराशि खर्च गरेर सगरमाथा चढ्न आउने पर्वतारोहीले यो समस्यामा ध्यान दिँदैनन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको विद्यमान सिजनमा चीनको एक कम्पनीले तिब्ब्तका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचौचालय उपलब्ध गराउने भएको छ । तिब्बती पर्वतारोहण एसोसिएसनका उपमहासचिव पेमा टिनलीले भनेका छन्, “यो शौचालयमा मानव शौच जम्मा गरिनेछ र पर्वतको तल ल्याइनेछ । यो अस्थायी शौचालयलाई सिजन समाप्त भएलगत्तै हटाइनेछ ।
सगरमाथामा यस किसिमको सुविधा गत वर्ष ५ हजार २ सय मिटरको उचाइमा रहेको उत्तरी आधार शिविरमा उपलब्ध गराइएको थियो । यस शिविरबाट दैनिक शौच ल्याएर मलका रूपमा प्रयोग गरिन्थ्यो ।
चीनले जुन ठाउँमा वातावरणमैत्री शौचालय बनाउन गइरहेको छ, नेपालका इन्जिनियरहरूले पनि दक्षिणी आधार शिविरमा बायोग्यास प्लान्ट बनाउने विचार गरिरहेका छन् । यो आशार शिविर पर्वतारोहीमा सर्वाधिक लोकप्रिय रहँदै आएको छ । यो प्लान्टको माध्यमबाट पर्वतारोहीले निकालेको शौच मलका रूपमा परिणत गरिनेछ ।