एजेन्सी
आइतवार, चैत्र १०, २०७५
577

चीन सरकारको भर मग्दुर प्रयासका बावजुद जन्म दरमा लगातार गिरावट आइरहेको छ । चाइना डेलीका अनुसार २०१८ मा राजधानी बेइजिङका अतिरिक्त अन्य कैयौ क्षेत्रमा जन्म दरमा गिरावट आएको छ । घट्दो जन्म दर र पाका उमेरका मानिसको संख्यामा भएको वृद्धिका कारण चीनले आफ्नो वर्षौदेखिको एक सन्तानको नीति २०१६ मा परिवर्तन गरेको थियो ।
यसपछि चीनमा दम्पतिलाई दुई सन्तान जन्माउने अनुमती दिइएको छ । ताजा प्रतिवेदनका अनुसार चीनमा प्रत्येक १००० व्यक्तिमा जन्मदर ८.२४ प्रतिशतले घटेको छ । २०१७ मा यो आंकडा ९.०६ प्रतिशत थियो । २०१८ मा राजधानीको कुल जनसंख्यामा पनि लगातार दोस्रो पटक गिरावट आएको थियो ।

देशको आर्थिक राजधानी सांघाईमा २०१७ मा जन्म दर ८.१ प्रतिशतले घटेकोमा २०१८ मा ७.२ प्रतिशतले गिरावट आएको थियो । लिओनिङ प्रान्तमा गत वर्षको जन्म दरमा ६.३९ प्रतिशतले कमी आएको थियो ।
गत वर्ष चीनमा १.५२ करोड शीशुको जन्म भएको थियो । २०१७ को तुलनामा यो २० लाखले कम हा । विशेषज्ञका अनुसार २०२९ पछि चीनको जनसंख्यामा लगातार गिरावट आउनेछ । २०५० मा यो देशमा २० करोड श्रमिकको अभाव हुनेछ । हाल चीनको जनसंख्या १.४१८ अर्ब रहेको छ ।
चीनमा विवाहको दरमा पनि भारी मात्रामा कमी आएको छ । राष्ट्रिय सांख्यिकी ब्यूरो (एनबीएस) का अनुसार २०१८ मा नयाँ विवाहको दर्तामा ०.७२ प्रतिशतले कमी आएको छ ।