एजेन्सी
बिहिवार, चैत्र ७, २०७५
1711

बेइजिङ-मसुद अजहरलाई राष्ट्र संघमा विश्वव्यापी आतंकवादी घोषित गर्नबाट चीनले भिटो प्रयोग गरेर बचाएको छ । चीनको यो कदमपछि भारतमा पाकिस्तानपछि चीनको बिरुद्धमा पनि आक्रोश देखिएको छ । भारतका कैयौ सहरमा चिनियाँ सामग्रीको बहिष्कार हुन थालेको छ । कैयौ स्थानमा चिनियाँ सामग्री जलाउन पनि थालिएको छ । यो खबर चीन पुगेपछि चीनले भारतले चाहोस् वा नचाहोस चिनियाँ सामग्रीलाई बेवास्ता गर्न नसक्ने जनाएको छ ।
चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्समा आएको समाचार अनुसार भारतीयलाई मन परोस् वा नपरोस चिनियाँ समान किन्नु उनीहरुको बाध्यता हो । भारतको निर्माण उद्योग अझैंपनि अविकसित छ र प्रतिस्पर्धी क्षमताको छैंन । यसै कारण भारतमा चिनियाँ सामग्री प्रयोग नगर्ने विषय लामो समयसम्म सफल नहुने ग्लोबल टाइम्सले जनाएको छ ।

मंगलबार लेखिएको ब्लगममा भनिएको छ,“केही भारतीय विश्लेषकले मेड इन चाइना सामानको बहिष्कार गरिरहेका छन् । यो विशेषगरी मसुद अजहरलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने विषयमा चीनले प्रयोग गरेको भिटोबाट सिर्जना भएको छ ।” ट्वीटरमा ‘ह्यासट्याग बोइकट चाइनिज प्रडक्ट’ पनि व्यापक लोकप्रिय भएको छ ।
तर यत्तिका वर्षसम्म यो बहिष्कार असफल किन भयो ? भारत स्वयं यी सामानको उत्पादन गर्न सक्दैन । लेखमा भनिएको छ,“मानिसको ध्यान चीनतर्फ भड्काउनाले पनि देश भित्रको समस्या समाधान हुदैन । नयाँ दिल्लीले यो कुरा बुभ्mनु आवश्यक छ कि मानिसको ध्यान चीनको बिरुद्धमा भड्काउनाले उनीहरुको आन्तरिक समस्या समाधान हुदैन ।”
विगतका केही वर्षमा भारत र चीनको सम्बन्धमा सुधार आएको छ । व्यापार घाटा कम गर्न बेइजिङले प्रयास गरिरहेको छ । लेखमा भारतीय नेतालाई ट्वीटरमा नारावाजी गर्नुको सट्टा वास्तविक क्षमतामा सुधार गर्न सुझाव दिइएको छ ।