एजेन्सी
मंगलबार, पुष ३, २०७५
712

वासिङटन-सोमबार अमेरिकी तेलको मूल्य १४ महिनाकै न्यून कायम भएको छ । अमेरिकामा अधिका आपूर्तिको संकेत र लगानीकर्ताहरुमा विश्वव्यापी आर्थिक वृद्धि तथा इन्धनको मागप्रतिको चिन्ताका कारण मूल्य ओरालो लागेको हो ।
अमेरिकी हलुका कच्चा तेलको मूल्य सोमबार १.३२ डलर अर्थात २.६ प्रतिशतले घटेर प्रति व्यारेल ४९.८८ डलर कायम भएको छ । मूल्य प्रति व्यारेलमा ५० डलर मुनी गएको यो २०१७ को अक्टुबरदेखिकै पहिलो पटक हो । यो मूल्य समायोजनपछिको सम्झौतामा मूल्य ४ प्रतिशतले ओरालो लागेर ४९ डलर प्रति व्यारेल कायम भएको छ । यो मूल्य २०१७ को सेप्टेम्बर १३ देखिकै अन्तरदिन न्यून हो ।

ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ६७ सेन्ट अर्थात १.१ प्रतिशतले कमी आएर प्रति व्यारेल ५९.६१ डलर कायम भएको छ ।
ओक्लोहामामा रहेको कसिङको भण्डारण केन्द्रमा डिसेम्बर ११ देखि १४ सम्मको अवधिमा तेलको मौज्दात १० लाख व्यारेलले वृद्धि भएपछि अमेरिकी तेलको मूल्यमा थप गिरावट आएको हो ।
दुवै बेन्चमार्कको मूल्यमा अक्टुबरदेखि नोभेम्बरसम्मको अवधिमा ३० प्रतिशतको गिरावट आइसकेको छ । अधिक आपूर्तिका कारण विश्वव्यापी मौज्दातमा भएको वृद्धिले मूल्य ओरालो लागेको हो । तर वित ३ साताको अवधिमा भने मूल्य उकालो लागेको थियो ।
केही लगानीकर्ताले ओपेकको योजनामा रहेको आपूर्ति कटौती पनि आशंका व्यक्त गरेका छन् । रुस जस्ता अन्य उत्पादकले बजारलाई पुनर्संन्तुलन कायम गर्ने बताइएको छ ।
ओपेक र उसका मित्रहरुले जनवरीदेखि उत्पादनमा १२ लाख व्यारेल प्रतिदिन घटाउने विषयमा सहमती जनाएका थिए ।