एजेन्सी
बुधवार, भदौ २७, २०७५
278

वासिङटन-इरानी उर्जा उद्योगमा लगाइने अमेरिकी प्रतिबन्धले तेलको मूल्य प्रति व्यारेल १०० डलर माथि पुग्ने उद्योगका विज्ञहरुले बताएका छन् । इरानमाथिको अमेरिकी प्रतिबन्ध नोभेम्बरदेखि कार्यान्वयनमा आउने छ ।
मंगलबार अमेरिकी कच्चा तेल प्रति व्यारेल ६८ डलरमा कारोबार भएको थियो । यसैगरी ब्रेन्ट कच्चा तेल झन्डै ७८ डलरमा कारोबार भएको छ ।

“यदी इरानमाथि प्रतिबन्ध नलाग्ने हो भने मूल्य ७० डलरको हाराहारीमा वा सो भन्दा पनि कम हुनेछ । हाल प्रतिबन्धको त्रास बास्तविक जस्तै भएको छ । यो कार्यान्वयमा आउनका लागि २ महिना भन्दा पनि कमको समय छ । यसले मूल्य आकासिने छ,” परामर्शदातृ फर्म फ्याक्ट्स ग्लोबल इनर्जीका संस्थापक र अध्यक्ष फेरेडियम फेसाराकीले बताए ।
“उच्च मूल्यको आरोप ट्रम्प प्रशासनमाथि जानेछ । यदी प्रतिबन्ध लाग्यो र यसलाई उपयुक्त किसिमबाट दबाबमा राखियो भने अरु कसैले पनि मूल्य रोक्न सक्दैन,” उनको भनाई थियो ।
इरानको परमाणु कार्यक्रम नियन्त्रण गर्न भएको अन्तर्राष्ट्रिय सम्झौताबाट फिर्ता हुने डोनाल्ड ट्रम्पको निर्णयले इरानको वित्तीय, अटोमोटिभ, उड्डयन र धातु क्षेत्रमा पुनः प्रतिबन्ध लाग्ने छ । अमेरिकी राज्य विभागले इरानी तेल खरिदकर्तहरुले अमेरिकी नाकाबन्दीबाट बच्नका लागि नोभेम्बर ४ को समय दिएको छ ।
हाल इरान विश्वकै ठूला तेल निर्यातकर्ता मुलुक मध्येको एक हो । इरानी आपूर्तिलाई पूर्ण रुपमा रोक्नाले तेलको मूल्य १०० डलर माथि पुग्न सक्छ । इरानको आपूर्ति कटौतीलाई अन्य ठूला उत्पादकले सहजै पूर्ति गर्न नसक्ने भएकाले इरानी आपूर्ति रोकिए लगत्तै मूल्य आकासिने फेसाराकीले बताए ।
उर्जाको मूल्य अत्यन्त उच्च भएको र ओपेकलाई मूल्य घटाउनका लागि ट्रम्पले जुलाईमै ट्वीटर मार्फत सम्बोधन गरेका थिए । तर ओपेक र रुससँग आपूर्तिलाई बढाउनका लागि जगेडा क्षमता नभएको उनले बताए ।
अमेरिकी सेल उत्पादकहरुले पनि आफ्नो क्षमताको अधिकतमा अवस्थाबाट उत्पादन गरिरहेको भनाई उनको थियो ।
तेलको मूल्य प्रति व्यारेल १०० डलर पुग्ने समय अमेरिका र चीनले व्यापारिक क्षेत्रमा रहेको आफ्नो मत भिन्नतालाई कसरी समाधान गर्छन् भन्ने विपयमा निर्भर रहने फेसाराकीले बताए ।
विश्वकै दुई ठूला अर्थतन्त्रबीचको चालू अवस्थाको घर्षणले अवस्थालाई असर पारेको छ । यदी यसले विश्वव्याी आर्थिक गतिविधिलाई मन्द बनायो भने तेल र ग्यासको मूल्य पनि ओरालो लाग्न सक्ने धारणा उनको थियो ।