सुयोग खनाल
बिहिवार, जेठ ३, २०७५
654

प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यस वर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य सुरु गरेको छ । वैशाख ३० गते कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुरलगायत स्थानीय पर्यटन व्यवसायीहरूसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले आफ्नो प्रवद्र्धनात्मक अभियान अगाडि बढाएको हो ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवद्र्धनात्मक कार्य अगाडि बढाएको हो । प्रवद्र्धनात्मक अभियानले शुक्लाफाँटा–नालापानी–खप्तडको पर्यटकीय सम्पदाहरूको उजागर गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यहाँका गन्तव्यहरूको प्रवद्र्धन एवं प्रचार–प्रसार गर्नेछ । साथै सुदूरपश्चिममा रहेको सम्पूर्ण गन्तव्यहरूको पर्यटन प्याकेज तयार गरी अभियानले आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटकलाई बढीभन्दा बढी सुदूरपश्चिममा ल्याउने लक्ष्य लिएको अभियानका संयोजक एवं सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । उनले यसअन्तर्गत कञ्चनपुर–बझाङ–अछाम–कैलालीलाई एकसाथ प्रवद्र्धन गराएर अगाडि बढाउने बताए ।
यस्तै स्थलगत अध्ययन भ्रमणमा रहेका नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले भारतीय पर्यटकलाई सुदूरपश्चिमसँगमा ल्याएर थुप्रै आम्दानी गर्न सकिने भएकाले सुदूरपश्चिमका पर्यटकीय पूर्वाधार विकासमा जोड दिन स्थानीय तहका प्रमुख तथा पर्यटन व्यवसायीलाई आग्रह गरे ।
स्थलगत भ्रमण अभियानलाई स्वागत गर्दै हान कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदूरपश्चिम नारामात्र नभएर पर्यटक लोभ्याउने भर्जिन गन्तव्य भएको बताए । उनले घुम्न आउने पर्यटकलाई सबै किसिमको सेवा सुविधा दिन सुदूरपश्चिम तयार रहेको पनि बताए । यस्तै भिमदत्त नगपालिकाका मेयर सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका मेयर अशोक चन्दलगायतले पर्यटकीय गुरुयोजना बनाएर सुदूरपश्चिमका गन्तव्यहरूको विकासमा स्थानीय सरकार लागिपरेको बताएका छन् ।
भ्रमण समूहले भारतको हरिद्वार, ऋषिकेषका पर्यटन व्यवसायीसँग अन्तक्रिया गर्दै नेपालको शुक्लाफाँटा हुँदै खप्तडसम्मको भर्जिन पर्यटकीय गन्तव्य हेरेर आनन्द लिन आग्रह गर्दै यतिबेला भारतका पर्यटन व्यवसायीसँग अन्तक्रिया गर्न भारतको उत्तराखण्डमा रहेको हरिद्वार पुगेको छ ।

सातामा धेरै पढिएको