म्यालपोखरी हेर्नेको घुइँचो
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
332

सदरमुकाम सन्धिखर्कबाट साढे १ किलोमिटर नजिक, सन्धिखर्क तम्घास सडकखण्डबाट जोडिएको ऐतिहासिक ठाउँ । २ वर्ष अगाडिको दुर्गन्धित पोखरीलाई पुनःनिर्माण गरेसँगै हेर्न आउँनेहरूको घुइँचो लागेको स्थानीय म्यालपोखरीबासी बताउँछन् ।
पछिल्लो समयमा यहाँको पोखरी धार्मिकस्थलका रूपमा प्रचार भइरहेको छ । यस क्षेत्र अहिले क्याम्पसका विद्यार्थी, स्थानीय बासिन्दा तथा यात्राको क्रममा पोखरी हेर्नका लागि अवलोकन गरेर जाने स्थानीय अम्मर श्रेष्ठ बताउँछन् । सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरू यहाँको पोखरी हेर्न दैनिकजसो जाने गर्छन् ।
यहाँ मन्दिरभित्र शिवलिंग, पार्वती, गणेश, हनुमान, बुद्ध, नाग, बसाह, त्रिशूल, १०८ पाला, पानस र जलधारी निर्माण गरिएको छ । स्थानीय म्यालपोखरीबासी, नेपाली सेना, सन्धिखर्क नगरपालिकालगायतको सहयोगमा हेर्नलायक धार्मिक पर्यटकीय स्थल बनेको हो म्यालपोखरी ।
केही समयअघिसम्म म्यालपोखरी फोहोरै फोहोरले भरिएको, झारपात उम्रिएर भरिएको, बर्खामा पानी जम्ने फाल्ने खाडल बनेको थियो । बाबुबाजेले गाईभैंसीलाई पानी खुवाउन बनाएको पोखरीलाई घर–घरमा खानेपानीका धारा आएपछि संरक्षण नगर्दा डम्पिङजस्तै बनेको म्यालपोखरी सुन्दर हेर्नलायक ठाउँ बन्यो ।
यसलाई शक्तिपीठका रूपमा बनाइएकाले यहाँ आउने जोकोहीले पूजापाठ र दर्शन गर्छन् । सेनाको विशेष पहलमा बनाइएको पोखरीमा ५२ दिनसम्म जनश्रमदान सेना र स्थानीयले गरेको म्यालपोखरी रिषव अधिकारीले बताए । निर्माण सम्पन्न गर्न २१ लाख खर्च लागेको थियो ।