कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
730

दैलेख । दुल्लुमा सांस्कृतिक संग्रहालय बन्ने भएको छ । नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, विभिन्न मन्दिर, पाटी, पौवाजस्ता मूर्त संस्कृति र देउडा, धमारी, कर्काेजस्ता अमूर्त सांस्कृतिक सम्पदाको धनी दुल्लु क्षेत्रबाट संस्कृति लोप हुन थालेपछि नगरपालिकाले संग्रहालय बनाउन लागेको हो ।
दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी कला–संस्कृतिको जगेर्ना गर्नु नगरपालिकाको दायित्व भएको भन्दै सो दायित्व पूरा गर्न संग्रहालय निर्माण गरिन लागेको बताए । नगर प्रमुख भण्डारीले पञ्चकोशी क्षेत्रको संवद्र्धन, संरक्षण, प्रवद्र्धन तथा पर्यटकीय गतिविधि सञ्चालन गर्नको लागि ठोस प्रस्ताव बनाएर प्रदेश र केन्द्र सरकारलाई बुझाउने जानकारी दिए ।

बूढीगंगामा व्यावसायिक –याफ्टिङ सुरु
अछाम । अछामको बूढीगंगा नदीमा औपचारिक रूपमा जलयात्रा शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो ।
उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रूपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाले नयाँ वर्षको अवसर पारी विधिवत् रूपमा जलयात्रा शुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले बताए ।
देशैभरि विभिन्न नदीमा –याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो । साँफेदेखि चित्रेसम्मको करीब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित रु एक हजार ५०० लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने उक्त कम्पनीले जनाएको छ । अछामको बूढीगंगा र कैलाशमा सजिलै –याफ्टिङ गराउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेसमेत कम्पनीका अध्यक्ष कुँवरले बताए ।
अब नियमितरूपमा साँफेबगरदेखि जिमराडी चित्रेसम्म –याफ्टिङ सञ्चालन गरिने र होटेल व्यवसायी तथा स्थानीयवासीको मागअनुसार प्राविधिकसहितका सामग्रीसमेत थप गरिने सो कम्पनीले जनाएको छ । अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन, खप्तड, वैद्यनाथ धाम, चित्रे जिमराडीलगायत क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन गरिने जलयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइएको छ ।

सहिद पार्क पर्यटक गन्तव्य बन्दै
तेह्रथुम । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने शुक्रबारे बजार नजिकै रहेको सहिद पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । चारैतिर गुराँसे वनको काखमा रहेको पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्न थालेको हो ।
छथरकै एकमात्र पार्कका रुपमा निर्माण भएसँगै पर्यटकको आकर्षणको केन्द्रको रूपमा परिचित बन्न थालेको पार्क निर्माण समितिका अध्यक्ष धामबहादुर कार्कीले बताए । धनकुटाको सिधुवा बजारदेखि ९ किलोमिटरमा रहेको शुक्रबारे बजार नजिकै रहेको पार्क पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्य गन्तव्य बनेको छथर गाउँपालिका वडा नम्बर २ का सदस्य उमेश पोख्रेलले बताए । पार्कबाट तेह्रथुमको सलरमुकाम म्याङलुङ बजार तथा धनकुटाको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ ।
यस क्षेत्रलाई पर्यटकहरूको गन्तव्यको रूपमा विकास गर्नका लागि आर्थिक वर्ष २०७४-०७५ को गाउँसभाबाट ४४ लाख विनीयोजन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । जिल्लाको पश्चिमी क्षेत्रका मात्र नभई विभिन्न जिल्लाका पर्यटक भित्रिने क्रम बढ्दो रहेको गाउँपालिकाले जनाएको छ ।