कारोबार संवाददाता
बिहिवार, श्रावण १५, २०७७
432

पोखरा -गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले प्रदेश भित्र भएका सामुदायिक होम स्टेहरुलाई बिहीबारदेखि पुनः सञ्चालन गर्न आह्वान गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपालमा पनि लगातार चार महिना लकडाउन हुँदा ग्रामिण पर्यटनको क्षेत्र धेरै प्रभावित भएकोले पहिलाकै अवस्थामा सञ्चालन गर्न भिटोफले प्रेस विज्ञप्तिमार्फत आह्वान गरेको हो ।
गत चैत ११ गतेबाट नेपाल भर लकडाउन भएसँगै २०७७ साउन ७ गतेबाट खुल्ला गरिए पनि पर्यटकीय सेवाका व्यवसायहरुलाई साउन १५ गतेदेखि स्वास्थ्यका आवश्यक सतर्कता अपनाई सञ्चालन गर्न अनुमति प्राप्त भएसँगै होमस्टेहरु समेत सञ्चालन गर्न आह्वान गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए । सरकारले जारी गरेको स्वास्थ्य को मापदण्ड पूरा गरेर आफू, आफ्नो परिवार, आगन्तुक पाहुना र समुदायलाई सुरक्षित राखी प्राकृतिक प्रकोप जोखिमबाट सुरक्षित बनी भिडभाड नगरी सेवा सुचारु गर्न अनुरोध गरिएको अध्यक्ष अधिकारीले जनाए । प्रदेशका ११ जिल्लामा भिटोफामा करिब १ सय ९५ वटा होमस्टेहरु आबद्ध भएको उनले जनाए ।
गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्र्तगत हालसम्म २ सय ७३ वटा सामुदायिक होमस्टेहरुले अनुमति लिएका छन् । प्रदेश सरकारले अघिल्लो र गत वर्ष होम स्टेप्रवद्र्धन र होमस्टेको भौतिक पूर्वाधार निर्माणमा ३० करोड भन्दा बढी खर्च गरीसकेको छ । प्रदेशमा करिब ५ हजार बढी होमस्टेबाट प्रत्यक्ष लाभान्वित हुने भएको अध्यक्ष अधिकारीले जनाए । प्रदेशका सबै गाँउ बस्तीमा रहेका होमस्टेमा वार्षिक रुपमा करिब १० लाख आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा बसोबास गर्ने गरेको अध्यक्ष अधिकारीले दावी गरे ।