कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
311

दाङ-प्रदेश नं. ५ सरकारले आउँदो आर्थिक वर्ष २०७७-०७८ का लागि संस्कृति तथा पर्यटन विकासका लागि ६ करोड ५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७- ०७८ का पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि रकम विनियोजन गरेको प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेख गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रमा पूर्वाधार गर्नेका लागि उक्त रकम खर्च गरिने भएको छ ।
प्रदेश सरकारले बाह्र कुने दहमा बहुउद्देश्यीय पार्क निर्माणका लागि १ करोड ४० लाख रुपैयाँँ बजेट विनियोजन गरेको छ । थारु संग्रहालय निर्माण व्यस्थापन चखौराका लागि ६० लाख रुपैयाँँ, घोराही उप–महानगरपालिका वडा नं १८ को घोरदौरामा दाङको सांस्कृतिक डवली निर्माणका लागि १ करोड २० लाख रुपैयाँँ विनियोजन गरिएको छ ।

त्यसैगरी तुलसीपुर उप–महानगरपालिका वडा नं ७ खर्चवामा भुइ स्थान निर्माणका लागि १० लाख रुपैयाँँ, तुलसीपुर वडा नं ५मा गुम्बा निर्माणका लागि २० लाख रुपैयाँ, सत्य साइ केन्द्र व्यवस्थापनका लागि १० लाख रुपैयाँ, दगीशरण गाउँपालिकाको सुकौरामा पार्क व्यवस्थापनका लागि ३० लाख रुपैयाँ, बंगलाचुली गाउँपालिकामा पार्क निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
दंगीशरण गाउँपालिका वडा नं ४ पैवाङमा रहेको सति मन्दिरका लागि ५ लाख रुपैयाँ, घोराही १२ मा रहेको सुकी दह पर्यटन पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ, थारु कल्चर भिलेज तथा पार्क स्वीकृत डीपीआर बमोजिमका लागि ५० लाख रुपैयाँ, घोराहीमा मल्टिपर्पोज बोटानिकल गार्डेन निर्माणका लागि ५० लाख रुपैयाँ, तुलसीपुरमा बोटानिकल गार्डेन निर्माणका लागि ४० लाख रुपैयाँ र चमेरे गुफा सुकेदह संरक्षण एवम सौन्दर्यकरण तुलसीपुर ४ का लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण भएपछि आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सकिएमा जिल्लाको विकासमा समेत सहयोग पुग्ने यसका जानकारहरु बताउँछन् । जिल्लामा आर्थिक विकासमा समेत सहयोग पुग्नुको साथै रोजगारीको समेत विकास पुग्ने उनीहरुको भनाइ छ । पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारले आ–आफनो स्थानबाट योजना बनाएर कार्य गदै आएका छन् । दाङ पर्यटकीय क्षेत्रमा धेरै संभावना वोकेको जिल्लाको रुपमा रहेको छ ।