कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
475

लमजुङ-आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने लमजुङका दर्जनौ झरनाहरु सुनसान बनेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम र जारी लकडाउनका कारण पर्यटकीय झरनाहरु सुनसान बनेका हुन् ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङका दर्जनौ झरनाहरुमा अघिल्ला वर्षहरुमा स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन हुने गरेको थियो । वर्षा सुरु भएसँगै बेसीशहरको गाईखुरे झरनासहित मस्र्याङदी गाउँपालिका अन्तर्गतका भुलुभुले, स्याँगे, जगत, च्याम्चेलगायतका ठूला झरनाहरु हाल कोरोना संक्रमण जोखिमका कारण पर्यटक जान छोडेपछि झरनाहरु सुनसान भएका हुन् ।

झरनाहरु सडक वा पदमार्ग छेउमै भएकोले कतिपयले सवारी रोकेर नै आनन्द लिने गरेका थिए । तर, अहिले सार्वजनिक सवारी ठप्प छ । पर्याप्त सवारी साधन चल्न नपाउँदा झरनासम्म आउनेहरु आउन नसकेको मस्र्याङदी–४, स्याँगेका पर्यटन व्यवसायी नरबहादुर गुरुङले बताए । कोरोना भाइरस संक्रमण जोखिमका कारण पनि पर्यटकीय गन्तव्यहरुमा सर्वसाधरण पुग्न नकसेका हुन् ।
छोटो समयमा लमजुङका पर्यटकीय गन्तव्य पुग्न नसक्नेहरु पनि झरनामा पुगेर आनन्द लिने गर्दथे । तर, अहिले घर बाहिर हिड्ने तथा घुम्ने अवस्था नभएकोले फुर्सद भएर पनि झरनासम्म पुग्न नसकेको सर्वसाधरणहरु बताउँछन् ।
वर्खामा मात्रै पानी झर्ने बेसीशहरको गाईखुरे झरनामा त अघिल्ला बर्षहरुमा झरना महोत्सव र क्यानोइङ समेत हुने गरेको थियो । तर, यस वर्ष कोरोनाकै कारण झरना सुनसान भएका छन् भने मेला महोत्सव र क्यानोइङ आयोजना हुन सकेका छैनन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष क्यानोइङ सम्भव नभएको अघिल्ला वर्षहरुमा क्यानोइङ सञ्चालन गरेका बेसीशहरका सिजन श्रेष्ठले बताए ।
यस्तै मस्र्याङदी–८, भुलभुलेको झरनामा पनि गत वर्ष झरना महोत्सव नै भएको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्ने उद्देश्यसहित गत वर्ष महोत्सव गरिए पनि यस वर्ष कारोनाको प्रभावकै कारण आन्तरिक पर्यटकहरु पुग्न सकेका छैनन् । देशको संक्रमण कालिन अवस्थाले पनि यसवर्ष सम्भाव्यता भएका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका निम्ति कुनै कार्यक्रम हुन सकेका छैनन् ।
झरनासँगै जिल्लाको ग्रामिण पर्यटकीय गन्तव्यहरु पनि सुनसान रहेका छन् । विगत चार महिनादेखि जिल्लाका होमस्टे सञ्चालन भएका ग्रामिण पर्यटकीय गन्तव्यहरु सुनसान बनेका हुन् । जिल्लाको पर्यटकीय गन्तव्यसहित विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग पनि सुनसान रहेको छ ।
पदमार्ग र ग्रामिण पर्यटकीय गन्तव्य पुग्न पर्यटकहरुको आगमन शुन्य भएसँगै जिल्लाका पर्यटन व्यवसायीहरु मर्कामा परेका छन् । पर्यटक पालेर जिविको पार्जन गर्दै आएका होटल रेष्टुरेन्ट व्यवसायीसँगै यातायात व्यवसायीहरु तथा अन्य व्यपारीहरुको व्यवसाय पनि ठप्प भएको हो ।
ग्रामिण भेगका पर्यटन व्यवसायीहरु पर्यटक नआएको समयलाई सदुपयोग गर्दै वैकल्पिक काममा व्यस्त भएपनि पदमार्ग र बजार क्षेत्रमा रहेका होटल, रेष्टुराँ र यातायात व्यवसायीहरु भने विगत चार महिनादेखि काम र आम्दानीविहीन बन्न पुगेका छन् ।

सन्देश पौडेल