कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
676

 कोभिड–१९ का कारण मुलुकको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित हुँदा यस क्षेत्रले प्रतिदिन ३३ करोड ३३ लाख रुपैयाँ नोक्सानी बेहोरिरहेको सरकारले जनाएको छ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनपछि कार्यसम्पादन भएका गतिविधिको जानकारी दिन शुक्रवार आयोजना गरेको कार्यक्रममा चैत ११ देखि असार १८ सम्म पर्यटन क्षेत्रले ३४ अर्ब नोक्सानी बेहोरेको जनाएको हो । मन्त्रालयले साउन ७ गतेसम्म थप ७ अर्ब रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । यसरी असार १९ देखि साउन ७ गतेसम्म २१ दिनको अवधिमा थप प्रतिदिन ३३ करोड ३३ लाख रुपैयाँ कारोनाभाइरस (कोभिड–१९)का कारण  उत्पन्न परिस्थितिका कारण नोक्सानी हुने मन्त्रालयले जनाएको हो । लकडाउनको समयमा भएको नोक्सानीको अध्ययन गर्न गठित नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सहितको टोलीले बुझाएको प्रतिवेदन अनुसार मन्त्रालयले साउन ७ गतेसम्म कुल  ४१ अर्ब रुपैयाँ क्षति भएको जनाएको हो ।
सरकारले चैत ११ यता लकडाउन गरेपछि पर्यटन उद्योगका होटल रेष्टुरेन्ट, हवाई क्षेत्रको तथा पर्यटनका अन्य सरोकार निकायका गरी कुल नोक्सानी ४१  अर्ब रुपैयाँ  हुने प्रक्षेपण गरेको छ । प्रतिमहिना सरदर १० अर्बको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ भने चैत ११ गतेदेखि अहिलेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँको नोक्सान भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो नोक्सान  साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्नेछ र कुल ४१ अर्ब रुपैयाँ पुग्ने अनुमान मन्त्रालयको छ ।पर्यटन क्षेत्रमा १० खर्ब रुपैयाँ बढीको लगानी रहेको जनाइएको छ । पर्यटनमा निजी र सरकारी गरेर पूर्वाधार, गन्तव्यलगायतका क्षेत्रमा भएको लगानी १० खर्बभन्दा बढी रहेको मन्त्री भट्टराईले बताए । मन्त्रालयमा आयोजित लकडाउनपछिको गतिविधिको जानकारी दिदै मन्त्री भट्टराईले हाल सम्म नेपालको पर्यटन क्षेत्रमा भएको लगानीको कुनै अध्ययन नभएको अबस्थामा लकडाउनको समय पर्यटन बोर्डले अध्ययन अनुसन्धान गरेर १० खर्ब रुपैयाँ बढी लगानी रहेको हुनसक्ने जनाएको बताए ।

उनले, भने “पर्यटन बोर्डले गरेको अध्ययनअनुसार १० खर्ब रुपैयाँ बढीको लगानी होटल तथा एयरलाइन्स,पर्यटन क्षेत्रमा लगानी रहेको छ र यो क्षेत्रमार्फत प्रत्येक्ष साढे दुई लाख र अप्रत्यक्ष ८ लाख रोजगारी प्राप्त गरिरहेको अवस्थामा कोभिड–१९ का पर्यटन क्षेत्रका श्रमिकको रोजगारी खोसिएको छ भने पर्यटन क्षेत्रको आम्दानी शून्यमा झरेको देखिन्छ ।” पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयले जनाएको छ । नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलव्ध गराएको मन्त्रालयले जनाएको छ । नेपाल सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुर्नकर्जाका लागि पाँच प्रतिशत व्याज दरमा कोषबाट ऋण दिने व्यवस्था गरेको छ । बजेटबाट पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न २० करोड रुपैयाँको बजेट व्यवस्था गरिएको छ । यसको कार्यान्वयनन् चाडै हुने र सबै निकायले सरकारले जारी गरेको प्रोटोकल पालना  गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिएको बताए ।

लकडाउनको समयमा पूर्वाधार विस्तारमा जोड
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यस अधिमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९१ प्रतिशत काम पूरा भएको जनाइएको छ । मन्त्री भट्टराईले  सन् २०२० को डिसेम्बर महिनामा विमानस्थल निर्माणको काम सकिने र त्यसको तीन महिनापछि अर्थात् मार्च महिनाबाट व्यवसायिक उडान सुरु गरिने तयारी मनत्रालयको रहेको बताए । त्यसैगरी विमानस्थल निर्माण कार्यमा २९ जना चिनियाँसहित २७५ जना कामदार निरन्तर परिचालित गरेर काम भैरहेको मन्त्रालयले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यस अवधिमा थप ९ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको  मन्त्रालले जनाएको छ । यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको स्तरोन्नति तथा विस्तारका पूर्वाधारका काम पूरा गरेको र सम्पदा पुर्ननिर्माणमा दर्जनै पुनर्निर्माण भएको छ । यो समयमा ४१ किलोमिटर पदमार्ग निर्माण भएका छन् ।