कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
592

सरकारले कार्य सम्पादनमा नतिजामुखी र प्रभावकारी काम नगर्ने कर्मचारीलाई हटाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राम्रो कार्य सम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका हुन । आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मन्त्रालय काममा अझै ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए ।
मन्त्री भट्टराईले भने, “अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनबाट हामी काममा अझै ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।” आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराईले भने, “तपाईहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए नभएको हरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।”

हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, “हामीले राम्रो अकंका साथ कक्षा उत्तीर्ण हुनैपर्छ । चालू वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न गर्नुहोला ।”
बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने पनि बताए । साथै, कोरोना पछि सबै बिमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेष्ट व्यवसायक सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यन्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा र निकाय प्रमुखलाई निर्देशन दिए ।